कोरोना रोकथामका लागि रेडक्रसको विशेष तयारी

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : २९


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोरोना संक्रमण फैलिन नदिन विशेष तयारी थालेको छ ।

परिस्थिति जटिल बनेको खण्डमा कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आए सहयोग गर्ने रेडक्रसले बताएका छ।

सामग्रीहरू खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरु लाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिने छन् । 

साथै, योजना अनुसार उपचार गर्ने अस्पतालहरूलाई आवश्यक सहयोग व्यवस्था मिलाइने छ।

कोरोना भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सो अघि सम्पर्कमा आएका व्यक्तिहरूको पनि खोजी गरी उपचार गर्नु पर्ने अवस्थामा खोजी  गर्न रेडक्रसले तालिमप्राप्त टोलीको तयारी गरेको जनाएको छ।

७७ वटै जिल्लामा सक्रियता

कोभिड–१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीहरुको सक्रियता बढाएको छ ।  

मुलुकका सवै जिल्लास्तरमा रेडक्रसका शाखाले सामुदायिक परिचालक÷स्वयंसेवकको व्यवस्था गरेका छन्।

संस्थाका विभिन्न विभागहरुले एकिकृत योजना बनाई  क्षमता विकास गरी स्वयंसेवक परिचालन,  सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेका नेरेसो स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताउनुभयो।

विद्यालय तथा समुदायमा छलफल कार्यक्रम

अभिमुखीकरण/तालिम सञ्चालन, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण,  सडक नाटक तथा एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा युवा स्वयंसेवकहरु परिचालित भएको रेडक्रसले जनाएको छ।

कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासँघ, यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसवाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताउनुभयो।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो। आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको छ।

रेडक्रसले भाइरसभन्दा कैयौंगुणा छिटो फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउन कार्य गरिरहेको रेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो।

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध

शुक्रराज सरुवारोग अस्पताल स्वास्थ्य डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवकहरु दैनिक खटिइरहेका छन्।

यस अलावा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देश भित्रिने नाका, एयरपोर्ट तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेक्समा सहयोग गरिरहेका छन्। 

यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ।

रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएका छन्।

रक्तदानमा सहयोग गर्न अनुरोध

नेपाल सरकारले भिडभाड नगर्न निर्देश गरे अनुरुप मानिसहरुको सामूहिक भेला हुने क्रम घट्दै गइरहेकोले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौं लगायत देशका सबै जसो जिल्लाहरुमा रक्तदानका कार्यक्रमहरुमा कमी आएको रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताउनुभयो।

“रगतको आपूर्तिमा कमि हुन नदिन र रगत आवश्यक पर्ने विरामीहरुको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रहरुमा गई रक्तदान गर्न नेरेसोले  अनुरोध गरेको छ। डा. राजकर्णिकारले भन्नुभयो, “असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको छ र सहयोगको लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भैरहेको छ।”


प्रतिक्रिया दिनुहोस्