काठमाडौँ । कोभिड–१९ रोकथामका लागि नेपाल-भारत खुला सीमालाई निश्चित समयका लागि बन्द गर्नुपर्नेमा कूटनीतिक जानकार र विज्ञहरूले जोड दिएका छन् । भारतमा संक्रमितको संख्या बढ्दै गएकाले सीमाको आवागमन र जनसम्पर्कका विषयमा पुनरावलोकन जरुरी रहेको उनीहरूले बताएका छन्।
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले द्विदेशीय सीमा केही समयका लागि भए पनि बन्द गर्नैपर्ने स्थिति देखिएको बताए । ‘खुला सीमा भनेर मानवीय अर्थमा मात्रै ख्याल गर्ने अहिले अवस्था छैन,’ गृह जिल्ला कपिलवस्तुमा रहेका उपाध्यायले टेलिफोनमा भने । भारतमा कोभिड–१९ बाट ४ जनाको मृत्यु भइसकेको छ भने केरला, चण्डीगढ, पश्चिम बंगालसहितका राज्यमा संक्रमितको संख्या साढे २ सय नाघिसकेको छ।
सीमा व्यवस्थापन गर्न र नागरिक आवागमनको रेकर्ड अद्यावधिक गर्न ढिला भइरहेको पूर्वराजदूत उपाध्यायले बताए । ‘नेपाल–भारत खुला सीमा भन्नासाथ आवतजावत गर्ने दुई देशका नागरिकको सरोकारमा मानवीय पक्षलाई मात्रै जोडेर हेर्ने गरिन्छ,’ उनले भने, ‘को आयो, को गयो। थाहा भइरहेको देखिँदैन। अब एउटा अवसर ठानेर द्विदेशीय नाकामा तत्काल कडाइ गर्नैपर्छ।’ विकसित र प्राविधिक क्षमता भएका अमेरिकीरयुरोपेली मुलुकमा समेत कोभिड–१९ नियन्त्रणबाहिर रहेकाले खुला सीमालाई दुरुपयोग गर्नै नमिल्ने उपाध्यायको तर्क छ ।
जेनेभास्थित राष्ट्रसंघीय नियोगका पूर्वस्थायी प्रतिनिधि दिनेश भट्टराईले पनि नेपाल–भारत खुला सीमालाई तुरुन्त नियन्त्रण र अनुगमन गर्नुपर्ने सुझाव दिए। ‘आज सेन्जेनभित्रका युरोपेली मुलुकहरू थलिएका छन्। वर्षौंदेखिको बन्द–व्यापार, आवतजावत र साझा नेटवर्कलाई लकडाउन गरेर कोरोना संक्रमणको सतर्कतामा जुटेका छन्,’ उनले भने, ‘हामीले भने नेपाल र भारतबीचको घनिभूत र गहिरो सम्बन्ध भन्दै खुला सीमामा निर्बाध आवतजावत गर्न दिइरहेका छौं । यो लापरबाहीले भोलि भयावह अवस्था निम्त्याउन सक्छ।’
भट्टराईले नेपालबाट भारततर्फ जान पूरै कडिकडाउ गरिएको तर भारतबाट नेपाल प्रवेश गर्न भने कुनै जाँच–परीक्षणबिनै दिइएको बताए । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनमा समेत द्विदेशीय आवागमनलाई नियन्त्रित गर्नुपर्ने र निर्धारित परिचयपत्रका भरमा तथा सीमावर्ती बिन्दुमा रेकर्ड राखेर मात्रै आवागमन गर्न सकिने सुझाव राखिएको थियो । तर ईपीजी प्रतिवेदन नेपाल तथा भारत सरकारको साझा र स्वीकार्य दस्तावेज बन्न सकेको छैन। नेपाल–भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ। आजको कान्तिपुर दैनिकमा खबर छ।