कोरोनाबाट विदेशमा पहिलोपटक नेपालीको मृत्यु

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : २०


लण्डन । घातक कोराना भाइरसबाट पहिलो पटक एक नेपालीको ज्यान गएको छ।

बेलायतको लण्डन स्थित साउथ ह्यारोमा बस्दै आएका पूर्व गोरखा सैनिक ६६ बर्षीय लीला बहादुर राईको मृत्यु भएको छ।

संखुवासभाको खाँदबारी नगरपालिका १० स्थायी घर भएका राईको उपचारको क्रममा नर्थविक पार्क अस्पतालमा निधन भएको हो।

लण्डनबाट सञ्चालिन विनेपाली अनलाइनका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए।

मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा सांझ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।

राईको निधनको तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आएका राई सन् २००८ मा बेलायत आएका थिए।

सेकेण्ड गोरखा राइफल्समा १७ वर्ष सेवा गरेका राईको आर्मी नम्बर २११६०५८१ थियो । उनी श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेको बताइएको छ ।
उनको करिब दुई दशकअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो ।

कोरोनाबाट मृत्यु हुने राई संभवतः पहिलो नेपाली हुन्।

उपचारका क्रममा निधन भएपछि पुरै परिवारलाई आइसोलनमा राखिएको बताइएको छ।

बेलायतमा शनिवारसम्म उक्त भाइरसबाट १ सय ७७ जनाको मृत्यु भएको छ भने ४०७२ जना संक्रमित भएका छन्।


प्रतिक्रिया दिनुहोस्