भ्रामक अडियो बनाउने युवक पक्राउ

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १० : १८


काठमाडौं । नेपाल प्रहरीले कोभिड–१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई आज  पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई  पक्राउ गरिएको  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

थापा मगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा  प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । मगरले विना दर्ता सञ्चालन भएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको बताइएको छ । 

नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ ।

अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको थियो । 

प्रहरीले गलत हल्लाका पछि नलागी  सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रह समेत गरेको छ ।  सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ । 
नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड–१९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको छ । 

यो पनि 

कोरोनाबाट मृत्यु भएको अडियो भाइरल भएपछि नर्भिकले जारी गर्यो विज्ञप्ति

भाइरल अडियो बनाउनेको खोजीमा जुट्यो प्रहरी, यस्तो हुने छ कारवाही


प्रतिक्रिया दिनुहोस्