सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ ।
संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल र फापर बिक्री शुरु गरेको हो ।
संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान सञ्चितिदर दोब्बर पार्ने, खाद्यान्न अभाव हुन नदिन समयमै ढुवानीको व्यवस्था मिलाइएको बताउनुभयो।
संस्थानले शुक्रबारदेखि सहुलियतमा खाद्यान्न बिक्री वितरण शुरु गरेको हो । संस्थानको गोदाममा १७ हजार क्विन्टल चामल मौज्दात छ ।
संस्थानमा कार्यरत कर्मचारी र उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा सतर्कता अपनाइएको संस्थानका प्रमुख थापाले बताउनुभयो।
यसैबीच होटल अर्गनाइजेशनले व्यवसायमा परेको मर्कामा विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ।
होटल अर्गनाइजेशनको टोलीले आज सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई भेटेर आपसी समन्वय र सहकार्यका विषयमा छलफल गर्नेछ।