बुटवल । नवलपरासी रामग्रामका ३५ वर्षीय युवकलाई तीन दिनदेखि खोकी, टाउको दुख्ने र ज्वरो आयो। उनी नजिकैको मेडिकलमा पुगे। मेडिकल सञ्चालकले पृथ्वीचन्द्र अस्पतालमा पठाए।
अस्पतालले लुम्बिनी प्रादेशिक बुटवल रिफर गर्यो। प्रादेशिक अस्पतालले आइसोलेन बेड अभाव भन्दै पुरानो मेडिकल कलेज चितवन पठायो। चितवनले काठमाडौं पठाएपछि विरामी अत्तालिए। टेकु अस्पतालसम्म पुगे पनि उनको उपचार गर्ने कोही भएन।
प्रदेश ५ मुख्यमन्त्री कार्यालयले निर्देशन दिएपछि उनको उपचार बुटवलको प्रादेशिक अस्पतालमा सुरु गरिएको छ। प्रदेश ५ मा यो पहिलो घटना होइन। यहाँका प्रायः निजी अस्पतालले ज्वरोका बिरामीलाई ‘प्रवेश निषेध’ नै गरेका छन्। सरकारी अस्पतालका स्वास्थ्यकर्मी समेत सकेसम्म उपचार गर्नबाट पञ्छिने गरेका बिरामीका आफन्तले बताएका छन्।
भारतबाट फर्किएका एक ज्वरोका बिरामी उपचारका लागि दाङको गोरखा अस्पतालमा पुगे। अस्पतालले उपचार गर्न आनाकानी गर्यो। बरु बिरामी नै आतंकित हुने गरी ‘तपाईंलाई कोरोना आशंका छ’ भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो। प्रतिष्ठानले बिरामीलाई आइसोलेनमा राखेको छ। तर कोरोना हो कि होइन भन्न स्वाब परीक्षण गर्ने उपाय थालिएको छैन।
बुटवलका कृष्ण न्यौपानेले तीन दिनअघि त्यस्तै समस्या भोग्नुपर्यो। बुटवलको एक निजी मेडिकलमा परीक्षण गर्दा निमोनिया देखियो। उनी लुम्बिनी प्रादेशिक अस्पताल गए। अस्पतालले आईसीयू नभएको भन्दै गौतमबुद्ध मुटु अस्पतालमा पठायो। मुटु अस्पतालले अन्य बिरामी जोखिममा पर्ने भन्दै राख्न मानेनन्। उनीहरु भैरहवाको युनिभर्सल मेडिकल कलेज पुगे। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।
बुटवलको अस्पताल लाइनमा लहरै निजी अस्पताल छन्। तर ती अस्पतालले ज्वरो, रुघाखोकीका बिरामीलाई उपचार नगरी अन्यत्रै पठाउने गरेका छन्। बिरामीकी आफन्त सरस्वती भट्टराईले परीक्षण नै नगरी ‘अन्तै जानुस्’ भनेर पठाइएको बताइन्। उनले आमालाई ज्वरो आएपछि अस्पताल पुर्याएकी थिइन्।
कोराना नै संक्रमण नदेखिएको अवस्थामा नै अस्पताल र स्वास्थ्यकर्मी उपचारबाट भाग्ने प्रवृत्तिले नागरिक झन् त्रसित छन्।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मी उपचारबाट टाढा हुन नहुने बताए। उनले शुक्रबार पत्रकारसँग भने, ‘हामीले डाक्टरलाई पनि के सिकाउनुपर्ला भन्ने सोचेका थियौं। अब काउन्सिलिङ आवश्यक देखियो।’ उनले संक्रमणबाट जोगिन सबै पक्षले सहयोग र सजगता अपनाउनुपर्ने बताए।अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।