भैरहवा । कोरोना महामारीका कारण रुपन्देहीको बेलहिया नाकाबाट तेस्रो मुलुकका सामान आयात रोकिएको छ ।
सामान आयात रोकिँदा भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलनमा गिरावट आएको छ भने उद्योगी व्यवसायी चिन्तित बनेका छन् । चीनमा कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि केही दिनदेखि सामान आयात हुँदै आएकोमा पछिल्लो समय भारतले तेस्रो मुलुकका सामान आयातमा कडाइ गरेकाले आयात निर्यात रोकिएको उद्योगी व्यवसायीले बताएका छन् ।
मान्छेबाट मात्र नभई सामानबाट पनि कोरोना सर्ने भएकाले भारतले नै तेस्रो मुलुकबाट आयात हुने सामानलाई कडाइ गर्दा नेपालमा पनि त्यसको असर परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । “चीनलगायत कतिपय मुलुकबाट आउने सामानलाई भारतले सेल्फ क्वारेन्टाइनमा राखेको सुनिएको छ, यसको असर मुलुकको उद्योग व्यवसायमा पनि पर्छ”–उहाँले भन्नुभयो।
पछिल्लो समय भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा कोरोनाका कारण ह्रास आएको उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो। तेस्रो मुलुकका सामान रोकिँदा नेपाली अर्थतन्त्रमा यसको प्रत्यक्ष असर गर्ने उहाँले बताउनुभयो। “तयारी सामान नआउँदा खासै फरक पर्दैन तर यहाँ उत्पादन नभएका सामान रोकिँदा बजारमा अभाव सिर्जना हुन्छ”–उहाँले भन्नुभयो। आजको गोरखापत्र दैनिकले खबर छापेको छ।