अत्यावश्यक बाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : १६


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० शैया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रिस्तरीय बैठकले कोरोना भाइरस समुदायमा छ छैन भन्ने अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ।

चीनसमक्ष अनुरोध
सरकारले बाह्य सहयोगका लागि पनि सक्रियता बढाएको छ । प्रवक्ता देवकोटाका अनुसार स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीकोे सूची तयार पारी उक्त सामाग्री उपलब्ध गराउन चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ।

मन्त्रालयले कोभिड–१९ को शङ्का भएका, वृद्धवृद्धा भएका व्यक्ति तथा अन्य रोगबाट प्रताडित, जोखिममा रहेका बिरामी र सम्भावित सङ्क्रमणको आशङ्का लागेकालाई पहिलो प्राथमिकतामा राखी नमुना परीक्षण गराउन पनि निर्देशन दिएको छ । कोरोना भाइरसको शङ्कास्पद व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पु-याउनुपर्ने विधिलगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना सम्पर्क व्यक्ति तोकी उक्त व्यक्तिको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अस्पताललाई निर्देशन दिएको छ । कोरोना भाइरसको नमुना परीक्षण गर्नयोग्य ठहरिएका वीर, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्नसमेत निर्देशन दिने निर्णय गरिएको छ ।

फिबर क्लिनिकको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि सयभन्दा बढी शøया भएका अस्पताललाई ज्वरो क्लिनिक (फिबर क्लिनिक) सञ्चालन गर्न दिएको निर्देशनसमेत अनुगमन गर्ने भएको छ । मन्त्रालयले कुनै अस्पतालमा कोरोना शङ्कास्पद बिरामी आएमा तत्काल अन्य अस्पताल रिफर नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्ने र परीक्षणका लागि नमुना सङ्कलन गर्ने तथा नमुना ‘पोजिटिभ’ आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाई तोकिएको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । आजको गोरखापत्र दैनिकले खबर छापेको छ।


प्रतिक्रिया दिनुहोस्