पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गङ्गा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट भक्तजनलाई बचाउन आवाज ननिकाली आरतीको विधि पूरा गर्न निर्देशन दिइएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
“कोषले भक्तजनमाथि शासन गर्न खोजेको होइन, रोगको सन्त्रासबाट बचाउन खोजेको हो, मन्दिरमा दर्शनका लागि आउनु हुने भक्तजनलाई पनि २५ जनाभन्दा धेरैको सङ्ख्यामा जम्मा नहुन र दुई मिटरको दूरीमा बस्न अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो ।
यसका लागि कोषले पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा परिचालन गरेको छ ।
भक्तजनमा रोगको सङ्क्रमण फैलन नदिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
सजग भएर भीड नगर्न र कोषको अनुरोधलाई सहज रुपमा स्वीकार गर्न पनि सदस्य सचिव ढकालले आह्वान गर्नुभयो ।
कोषको निर्देशनानुसार शनिबारदेखि १० जनाको समूहले आरती गर्ने भक्तजन र सहयोगीसमेत गरी २५ जनाभन्दा बढी उपस्थित नहुने गरी व्यवस्था मिलाइएको श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समितिका कोषाध्यक्ष नारायणप्रसाद पौडेलले बताउनुभयो ।
पशुपतिमा विसं २०६३ साउनको तेस्रो सोमबारदेखि वाग्मतीको गङ्गा आरती शुरु भएको हो।
भारतको बनारसमा हुने गङ्गा आरतीको स्वरुपमा त्यहीँबाट सामग्री र जनशक्ति ल्याएर कार्यक्रम शुरु गरिएको थियो । त्यसबेलादेखि शुरु गरिएको आरती आजसम्म निरन्तर चलिरहेको छ ।
आरतीको विधि नछोडी साउन्ड सिस्टम बन्द गरेर भीडभाड नगर्ने गरी तयारी गरिएको पनि उहाँले जानकारी दिनुभयो।
सामान्य दिनमा पनि पशुपतिको आरतीमा हजारौँको सङ्ख्यामा भक्तजन उपस्थित हुने गरेका थिए।
विशेष चाडपर्वका बेलामा त सङ्ख्या अझ बढ्ने गरेको छ।