नेपालमा माक्र्सवादको झण्डा बोक्ने मानिसहरुको संख्या उल्लेखनीय छ। माक्र्सवादको नाउँमा खुलेका साना, मझौला र ठूला पार्टीहरु त्यसका साक्षी छन्। वर्तमान सरकारमा पनि “माक्र्सवादी” पार्टीकै उपस्थितिले त झनै त्यो कुराको पुष्टि गर्छ। नगण्य हैसियतमा चासो राखिएको तर एउटा गम्भीर सवालको बेलाबखतमा हामीकहाँ चर्चा हुने गर्छ– के पार्टीको नाउँमा माक्र्सवादी झण्डा बोक्नेहरुसँग सस्कृतिचाहिँ माक्र्सवाद अनुकूल छ? के झण्डाधारीहरुको यति ठूलो जमातको दिमागमा यो प्रश्नको जवाफ छ कि– माक्र्सवादी झण्डाले कस्तो संस्कृतिको माग गर्छ? उनीहरुले दुनियाँसामु कस्तो संस्कृतिको अभ्यास गरिरहेका छन्?
माक्र्सवादी झण्डाभित्र निहित सपना, संघर्ष र ध्येय नयाँ समाजको निर्माण हो। नयाँ समाजको निर्माण आफैमा नयाँ संस्कृतिको निर्माण पनि हो। एकातिर नयाँ मानव, समाज र संस्कृति निर्माणको सपना बोकेको माक्र्सवादी झण्डा छ। अर्कोतिर त्यही सपना र ध्येयको बर्खिलाफमा माक्र्सवादी झण्डाधारीहरु छन्। अनि त्यो पल्टनबिना संकोच पुरानो संस्कृतिको सती जान तयार छ। जुन संस्कृति रुपान्तरण, क्रान्ति र नयाँ समाजको खिलाफमा छ। के यी दुई यात्राको बीचमा कहीँनेर संगति भेटिन्छ? संगतिको ठाउँमा विसंगतिहरु मात्र भेटिन्छन्। विजातीय चिन्तन र व्यहावरमा विजोगको प्रहसन छरपस्टै देखिन्छ।
पूँजीवाद आफै सामन्तवादविरोधी संघर्षको मोर्चाबाट उदाएको थियो। चर्चको सत्ताको ठाउँमा तर्कको सत्तालाई स्थापित गर्नु त्यसको ध्यय थियो। आज पूँजीवादी संस्कृतिको पहिचान क्रान्तिकारी संस्कृतिको रुपमा छैन। र पनि पूँजीवादका प्रगतिशील पक्षहरुलाई इन्कार गर्न जरुरी छैन। जुन पक्षहरु सामन्तवादको चिहानमाथि जन्मिएका थिए। तर धेरै सन्दर्भहरुमा माक्र्सवादी झण्डाधारीहरु पूँजीवादी पनि बन्न नसकेको यथार्थ हाम्रो सामु छ। केवल कोरा भावनात्मक लगाव र झण्डा बोकेर हिड्दैमा कसरी नयाँ समाजको निर्माता बन्न सकिन्छ? त्यसको लागि त नयाँ समाजको शिल्पी बन्नैपर्छ। जसरी अण्डा नफुटेर चल्ला निस्किन सक्दैन त्यसरी नै पुरानोसँग सम्बन्धबिच्छेद नगरी नयाँ केही जन्मिदैन। पुरानोसँग सम्बन्ध बिच्छेदको अर्थ सकारात्मक र जीवनशील पक्षलाई आत्मसात गरेरै हिड्नु हो। विज्ञानसँग हातेमालो गरेर अगाडि बढ्नु हो। मरणशील र विज्ञानविरोधी कुराहरुसँग सम्झौताहीन संघर्ष गर्नु हो। तर यतिखेर हामीकहाँ के भइरहेछ?
यतिखेर जे हुनुपर्ने हो त्यो भइरहेको छैन। जे नहुुनुपर्ने हो त्यही भइरहेको छ। माक्र्सवादको झण्डा बोक्नेहरुको प्रतिस्पर्धा केमा छ? के पुरानो सडेगलेको संस्कृतिसँग संघर्ष गर्न र नयाँ संस्कृतिको निर्माण गर्नमा छ? त्यसो देखिदैैंन। बरु सडेगलेका मरणासन्न संस्कृतिलाई अँगाल्नेमा प्रतिस्पर्धा छ। आज माक्र्सवादी झण्डा बोक्नेहरु भावनाको तहसम्म नयाँ समाज अनि शोषण, उत्पीडनको अन्त्यको कुरा गर्दैछन्। उनीहरुको विचारधारा, संस्कृति, चालचलन र आनीबानी जम्मै कुराहरुमा सामन्तवादी दृष्टिकोण र संस्कृतिको रजाई छ। पिछडिएका परम्पराहरुको विरुद्ध व्यक्तिगत र संगठित अभियान चलाउनुपर्नेहरुले नै तिनलाई काँधमा बोकेर हिडेको दृष्य बडो उदेकलाग्दो छ।
पश्चिम नेपालमा छाउपडी प्रथा अहिले पनि जीवित छ। छाउपडीका परिष्कृत रुपहरु त घर घरमै विद्यमान छन्। माक्र्सवादी झण्डा बोक्ने व्यक्तिहरुका परिवारमै माक्र्सवादविरोधी संस्कृतिले रजाइँ गरेको छ। तिनै परिवारमा छोराछोरीको बीचमा विभेद छ। जातीय छुवाछूत छ। छोरीको बिहेमा ऋण कर्ज गरेरै भए पनि मन फुकाएरै दाइजोको भेट चढाइन्छ। जग्गे राखेर धुमधामसँग “मारे पाप, पाले पुण्य” भन्दै कन्यादान दिएर पठाइन्छ। अनि छोराको बिहेमा धुमधामसँग दाइजोसहित बुहारी भित्र्याइन्छ। रुढिवाद र अन्धविश्वास यति बलियो छ कि नयाँ समाजको नारा फलाक्दै माक्र्सवादी झण्डाको फेर समातेर निर्वाचित जनप्रतिनिधि नै बोक्सी प्रथाको पक्षमा उभिन्छन्। पीडितको पक्षमा उभिनुको साटो उल्टो पीडितलाई नै दण्डित गर्छन्।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस महिलाहरुले गरेको ऐतिहासिक संघर्षलाई सम्झाउने र प्रेरणा लिने दिन हो। तर त्यो आजभोलि मेला भर्ने, रमाइलो गरेर बजेट सक्ने र गफ छाँट्ने अवसरमा परिणत भएको छ। त्यो अवसर पारेर महिला मुक्तिको पक्षमा व्यक्ति, परिवार र समाजमा भैरहेका संघर्षहरुका कथा अपवादमा मात्र सुनिन्छ। त्यो दिन घर–घरमै विद्यमान छाउपडी (कथित नछुने बार्ने) विरुद्ध, दाइजो विरुद्ध, लैंगिक हिंसा र असमानताको विरुद्ध भएका तमाम संघर्षका कथा सुनाउनुपर्ने दिन हुनुपथ्र्यो हाम्रो लागि। यो दुःखका आँसु मात्र झार्ने समय होइन। न त पीडाका मात्र कथाहरु सुनाउने समय हो। त्यो परिवेशबाट हामी नयाँ चेतना, नयाँ समाज र नयाँ संघर्षको युगमा प्रवेश गरेका छौं। तर हाम्रो जुन पिछडिएको तौर तरिका र चिन्तन छ, यसले नयाँ संस्कृतिको निर्माण गर्दैन। यसको अपजस सबैले लिनुपर्ला, तर नयाँ समाजको पथ प्रदर्शक माक्र्सवादी झण्डा बोक्नेहरुले नै सबैभन्दा बढी लिनुपर्ने हुन्छ। फगत नयाँ समाजको भावुक गीत गाएर मात्र नयाँ संस्कृतिको निर्माण हुने भए त्यो काम हजारौं वर्षदेखि हुँदै आएको छ। ती गीतहरु ठोस योजना, पहलकदमी, र निरन्तर संघर्षमा अनुवाद पो नयाँ समाजसम्म पुग्ने नयाँ गोरेटो तयार हुन्छ। त्यसपछि बन्दै गरेको राजमार्गमा आम मानिसहरु हिड्न तयार हुन्छन्। तब मात्र नयाँ समाज र संस्कृति निर्माणको चाहनाले सार्थकता पाउँछ।
नयाँ संस्कृति निर्माणको प्रशिक्षण माक्र्सवादको झण्डामुनि जुन स्तरमा हुनुपथ्र्यो, त्यो नहुनु विडम्बनाकै कुरा हो। त्यसैको परिणाम हो आज माक्र्सवादकै झण्डामुनि भाग्यवाद झाँगिदैछ। वीर पूजावाद मौलाउँदैछ। मालिक र ठालूवाद उर्वर हुँदैछ। पूर्वजन्म, परजन्म, पाप र पूण्यका गरुडपुराणकालीन जाली–झेली कथाहरुले वैधानिकता पाएकै छन्। नयाँ संस्कृति निर्माणको यात्रामा यो भन्दा कन्तबिजोग अरु केही हुन सक्दैन।
आज दुनियाँभरि पूँजीवाद छाडा साँढेझैं ढलिमली गर्दैछ। उसले आफूलाई टिकाउन दुनियाँका सबै जीवनविरोधी, अवैज्ञानिक र विकृत पक्षहरुलाई आत्मसात गरेको छ। उसको निम्ति नाजायज भन्ने कुनै कुरा छैन। नाफाको निम्ति मृत्युको कारोबार पनि उसको निम्ति पवित्र धन्दा हो। रुढिवाद, अन्धविश्वास, अवैज्ञानिक चिन्तन र परम्परा सबै कुराको त्यसले उद्योग नै खोलेको छ। नयाँ रुप र रंगमा घोलेर तिनलाई समाजमा पस्किएको छ। त्यहीँ रंगीचंगी विषाक्त संस्कृतिको शिकार आज सबै भएको अवस्था छ। तर जोगिनुपर्ने को थियो? प्रतिरोधको जिम्मेवारी कसको काँधमाथि छ? माक्र्सवादी झण्डा बोक्नेहरु नै हुन त्यस लडाईंको अग्रणी मोर्चामा उभिनुपर्नेहरु! तर उनीहरुको हालत के छ भने साम्राज्यवादी मुलुकको दर्शन गर्न नपाउँदासम्म उनीहरुको क्रान्तिकारिता कायम नै रहन्छ। जब साम्राज्यवादी मुलुकमा जान्छन्, त्यसपछि उनीहरुले खोजेको “समाजवाद” त्यही भेटिन्छ। देश फर्र्किदा कुनै नयाँ ग्रह फेला पारेझैं सगर्व सुनाउँछन्, “समाजवाद त अमेरिकामैं रहेछ!” यस्तो छ हाम्रो समाजवादी आन्दोलनका अभियन्ताहरुको दृष्टि र चिन्तन!
तसर्थ यतिखेर नयाँ समाज र संस्कृति निर्माणको यात्रा निकै ओझेलमा छ। पूँजीवादले आफ्नो विनासकारी संस्कृतिको क्याप्सुललाई कथित समृद्धिको गुलियो नारामा लपेटेर विश्व बजारको प्रदर्शनीमा राखेको छ। पूँजीवादी कथित समृद्धिको नाराको अन्तर्यमा नाफाको निम्ति प्रकृतिको दोहन रहेको छ। त्यसको राजनीति उपभोक्तावादलाई बढावा दिनु हो। अतः यो वा त्यो नाउँमा यतिखेर हाम्रो नयाँ समाज तथा संस्कृतिको यात्रा साम्राज्यवादी डिजाइनको गोटी बनेको छ।
दास मानसिकतालाई काँधमा बोकेर नयाँ संस्कृति निर्माणको गीत गाइरहनु अपराधपूर्ण पाखण्ड मात्र हो। त्यसले समाजलाई थप अवसरवादी मार्गतिर डो¥याउँछ। हाम्रो निम्ति सुरक्षित बाटो हो– आत्मनिर्भर र वैज्ञानिक समाजवादी संस्कृतिको निर्माण। यसको विरुद्धमा प्रतिरोधको नयाँ मोर्चा खोल्नुबाहेक नयाँ र चिन्तनशील पुस्तासँग अर्को कुनै विकल्प देखिदैंन।
dhitalpramod@gmail.com