कोरोनाबाट बच्न चुरोट छाड्न संक्रमितको अपील

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ११ : ५९


लण्डन । घातक कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकी एक महिलाले पोस्ट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

३९ वर्षीया तारा जेन लान्गस्टनले कोरोना लागेपछि आफूले सामना गर्नुपरेको अप्ठेरो बारे बताएकी छन्।

स्वस्थ रहेकी ती महिलालाई एकाएक सास फेर्न गाह्रो भएपछि एक हप्ता अघि गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

हाल उनी बेलायतको हिलिङडन अस्पतालको सघन कक्षमा उपचाररत छिन्।

महिलाले कोरोना भाइरसको खतराबारे चेतावनी दिँदै आफूलाई एकपटक सास फेर्न पनि निकै सङ्घर्ष गरिरहेको उल्लेख गरेकी छन्।

स्वास्थ्य अवस्थामा थोरै सुधार आएपछि महिलाले मोबाइलमा भिडियो रेकर्ड गर्दै ह्वाट्सएप मार्फत सार्वजनिक गरेकी हुन्।

भिडियो मार्फत महिलाले धूम्रपान गर्नेहरूलाई चुरोट छाड्न समेत अपील गरेकी छन्।

कोरोनाबाट बच्न स्वस्थ फोक्सोको आवश्यकता पर्ने भन्दै महिलाले भनेकी छन् 'हेलचेक्र्याइँ नगर्नुहोला'।

२ सन्तानकी आमा रहेकी उनलाई एम्बुलेन्समा अस्पताल पुगेकी चिकित्सकले परिक्षण गर्दा छातीमा सङ्क्रमण देखिएको थियो।

घातक कोरोना भाइरसबाट बेलायतमा लगभग ३ हजार मानिस सङ्क्रमित भएका छन् भने १ सय ३७ जनाको मृत्यु भएको छ।

कोरोनासँग लड्न रोगप्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खान र नराम्रो बानी छाड्न चिकित्सकले आग्रह गरेका छन्।

कोरोनाबाट मृत्यु हुने प्राय स्वास्थ्य अवस्थामा अन्य समस्या भएका रहेको पाइएको छ।

  


प्रतिक्रिया दिनुहोस्