ललितपुर महानगरपालिकामै स्यानिटाइजर बनाइने

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : ५२


ललितपुर महानगरपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर  निर्माण गर्ने भएको छ। स्यानिटाइजर बनाउँदा प्रयोग गरिने रसायनको जोखिमलाई ध्यानमा राखी महानगरपालिकाले आफैँ बनाउने निर्णय गरी काम अघि बढाउन लागेको हो। 

स्यानिटाइजर बनाउन प्रयोग गरिने डिस्टिलेसन सेट,  अल्कोहल मिटर, फ््रयाक्सन डिस्टिलेशन सेट  र चिनी कम्पनीबाट उत्पादित स्प्रीटको प्रयोग गरी महानगपालिकाले आफ्नै कार्यालयमा स्यानिटाइजर बनाउन लागेको महानगरपालिका प्रमुखका स्वकीय सचिव राजु महर्जनले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “महानगरपालिकाको नेतृत्वमा छ दिनको तालीम लिएका ६० जना व्यक्तिले आआफ्नो घरमा स्यानिटाइजर बनाउन पाउने छैनन्। रसायनसँग खेल्नुपर्ने भएकाले यसको जोखिमलाई ख्याल गरी हामीले यो निर्णय गरेका हौं।”

कार्यालयमा स्यानिटाइजर बनाउने  नेतृत्व रसायनशास्त्रमा स्नातकोत्तर नारायणराज महर्जनले गर्ने बताइएको छ। स्यानिटाइजर बनाउँदा प्रयोग हुने हाइट्रोजन पेरोअक्साइडले छालामा छुँदा असर पर्छ।

महानगरपालिकाले स्यानिटाइजर उत्पादन गर्न थालेपछि यदि बोलाएका खण्डमा नमूना परीक्षण गर्न जाने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का वरिष्ठ वैज्ञानिक सजनलाल स्याउलाले जानकारी दिनुभयो। 

“विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको मात्रामा रसायनको प्रयोग गरेर स्यानिटाइजर बनाउँदा कसैले पनि डराउनुपर्ने अवस्था रहेको छैन”, नाष्टका प्रवक्ता सुरेशकुमार  ढुङ्गेलले भन्नुभयो, “नेपालमा रहेका केही सङ्घसंस्था, काठमाडौंँ उपत्यकाभित्र र बाहिर केही नगरपालिकाले पनि स्यानिटाइजर बनाउने जानकारी प्रवाह गर्न अनुरोध गरिरहेका छन्।” साबुनपानीको पहुँच तथा व्यवस्था नभएका स्थानमा स्यानिटाइजर निकै उपयोगी  हुने ढुङ्गेलले जानकारी दिनुभयो।

महानगरपालिका विपत् व्यवस्थापन महाशाखाले गत फागुन २६ देखि २९ गतेसम्म हरेक वडाका दुई महिलालाई मास्क बनाउने तालीम पनि दिइसकेको छ। ती महिलाले हाल हरेक वडामा मास्क बनाउँदै महानगरपालिका कार्यालयमा दिने गरेका छन्। महानगरले ती महिलालाई प्रत्येक मास्क बनाएको ज्याला रु पाँच दिई रु ७ मा बिक्रीवितरण गर्ने गरेको महर्जनले बताउनुभयो। 

महानगरपालिकाले सेवा लिन आएका व्यक्तिलाई हातमा स्यानिटाइजर लगाउन दिने, थर्मोमिटर गनको प्रयोग गरी ज्वरो नाप्ने, ज्वरो आएका हकमा आराम र सजगता अपनाउन लगाउने, कोभिड–१९ का बारेमा लेखिएको पर्चा वितरण गर्ने र एफएम रेडियोमा जनचेतना फैलाउन थालिसकेको छ।


प्रतिक्रिया दिनुहोस्