कोरोनाविरुद्ध सबै एकजुट हुन राजपाको अपिल

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  २ : ५२


राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विश्वभरी नै तीव्र सङ्क्रमणको रुपमा फैलिरहेको कोभिड-१९ को सम्भावित जोखिमबाट सचेत भई चिकित्सकीय सल्लाह अनुसार जीवनयापन गर्न सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अपिल गरेको छ।
    
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै ढिलै भए पनि कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिद्वारा चैत ५ गते जारी भएका निर्णय सकारात्मक छन् भन्दै पार्टी समृद्ध सबै नेता कार्यकता र शुभेच्छुकलाई सतर्कतापूर्वक जोगिन र सुरक्षित तरिकाले सचेतना फैलाउने कार्यमा लाग्न आग्रह गर्नुभएको हो।
    
अहिले देशभरी नै कोरोनाको नाममा कृत्रिम अभाव सिर्जना गरी व्यापक कालोबाजरी भइरहेकाले तत्काल यस प्रकारको अमावनीय गतिविधिलाई रोकी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न राजपाले सरकारसमक्ष जोडदार माग गरेको छ । राजपाले कोरोनाले पूरै विश्वभरीको अर्थतन्त्रलाई प्रभाव पारेकाले अहिले कलकारखाना पर्यटन व्यवसायी, उद्योगलगायत सबै प्रकारको व्यवसाय बन्द हुने अवस्थामा रहेको भन्दै विशेष प्याकेजको घोषणा गरी ऋणिहरुको केही महिनाको ब्याज मिनाहा गराउनसमेत सरकारसँग आग्रह गरेको छ।

‘यस सङ्कटको घडीमा नागरिक समाज, पत्रकार, सामाजिक सङ्घ संस्था, सरकारी निकाय, बुद्धिजीवी युवा विद्यार्थी राजनीतिक दललगायत सरोकारवाला सबै एकजुट भई माहामारीबाट बच्न हातेमालो गर्न समेत गर्दछौँ’ राजपाको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस्