विश्वभर फैलिएको ‘कोभिड-१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो, “कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो । हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए ।” विद्यालयमा वार्षिक परीक्षा सकिएकाले विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उहाँले बताउनुभयो।
अवलोकनको लागि बन्द गरेपनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । हरेक दिन चिडियाखाना बिहान १० देखि साँझा ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो । हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालएका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन्।
हाल चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको छ। जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कम हँुदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीको लागि रु ७५० तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नागरिकका लागि रु ५०० नेपाली लाई १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि रु ९०
उद्धार केन्द्र अभाव
सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ। जङ्गली जनावरले समय समयमा मानव बस्तीमा आएर समस्या पार्ने गरेकाले तीनलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसरी मानवबस्तीमा आएर दुःख दिने जनावरलाई पहिलो चरणमै चिडियाखानामा राखिएको अन्य जनावरसँग घुलमिल गराएर राख्न समस्या हुन्छ । तीनलाई लामो समय स्वास्थ्यपरीक्षण गर्नका लागि विशेष निगरानीमा राख्नुपर्छ तर चिडियाखानामा यस स्थानको अभाव छ।
“प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महिनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ,” प्रमुख व्यवस्थापक पोखरेलले भन्नुभयो। चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुको सङ्ख्या बढिरहेकाले स्थान अभाव भएको बताउनुहुन्छ।