धार्मिक गतिविधिमा पुर्नविचार गर्न पर्यटनमन्त्रीको अपील

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  ११ : ४८


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै धर्मावलम्बीहरुलाई धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्न अपील गर्नुभएको छ।

कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गर्नुभएको हो।

सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो ‘अहिलेको परिस्थिति समान्य परिस्थिति होइन। कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन। त्यसकारणले कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरुमा समेत पुर्नविचार गर्नुप¥यो। पूर्ण सावधानी अपनाउन प¥यो।’

मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताउनुभयो।

उहाँले देश बहु धार्मिक बहु भाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरुले संयमता अपनाई आफ्ना कार्यक्रमहरुमाथि पुर्नविचार गर्न आग्रह गर्नुभएको हो । 

अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा सुरु हुन लागेको, बुद्ध धर्मावलम्बीहरुको सामुहिक प्राथना हुने र त्यस्तै भोली शुक्रबार मुस्लिम धर्मावलम्बीहरुको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरुको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गर्नुभएको हो।
 


प्रतिक्रिया दिनुहोस्