साप्ताहिक हाटबजार अनिश्चितकालका लागि बन्द

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : ४०


रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गरिने भएको छ।

कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिनुभयो ।  

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरसबाट सतर्कता अपनाउन साप्ताहिक हाटबजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी, सेमिनार, सभासम्मेलन नगर्ने निर्णय गरिएको पौडेलले बताउनुभयो।

नगरपालिकाका रन्यौरा, मुर्गिया, सालझण्डी, कलौनी, रानीबगियालगायतका ठाउँमा हाटबजार लाग्दै आएको छ।
 
माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा रहेका विद्यार्थीलाई दैनिकरूपमा कार्यतालिका बनाएर घर–घरमा पुग्न विद्यालयलाई निर्देशन दिइनेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ।

भाइरस सङ्क्रमणबाट सचेत रहन र सर्तकता अपनाउन यसअघि नै पर्रोहा स्वास्थ्य चौकी मुर्गियाका डा प्रकाश खरेलको संयोजकत्वमा नौ सदस्यीय (आरआरटी) समिति चयन गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस्