इयान जोनसन
चीनमा जनवरीको अन्तिमबाट ‘लकडाउन’ लागू हुँदा सम्पूर्ण देश कुनै विश्वव्यापी स्वास्थ्य संकटबीचमाझ गुज्रिरहेको भान पथ्र्यो। लकडाउनको सबैभन्दा कठोर समयमा म बेइजिङमा थिएँ। दुई हप्ताअघि, म आफ्नो कर्मभूमि बेइजिङबाट आफ्नो गृहसहर लन्डनका लागि उड्नुअघि विमानस्थलको प्रक्रियाले समेत उस्तै अनुभूति गराउँथ्यो– विमानस्थलमा अनिवार्य दुईपटक तापमान परीक्षण गराउनुपथ्र्यो। साथमा एक इलेक्ट्रोनिक स्वास्थ्य–कागजात पनि पेस गर्नुपथ्र्यो। त्यस डकुमेन्टमा मेरो इमेल ठेगाना र दुई फोन नम्बर उल्लेख गरिएको थियो। तर, यता लन्डनमा भने अवस्थामा बिल्कुल फरक थियो।
विमान अवतरणअघि वायुसेवाले हामीलाई एउटा सामान्य पाना दियो, जसमा केही बिरामी देखिएमा ‘नेसनल हेल्थ सर्भिस’लाई सम्पर्क गर्न सुझाव दिइएको यो। अवतरणपछि न कुनै तापमान जाँच भयो, न कुनै स्वास्थ्यसम्बन्धी तथ्य नै टिपोट भयो। यसको अर्थ हामीमध्ये कोही कोभिड–१९ को बिरामी हुन्थ्यौँ भने ऊविना पहिचान आफ्नो घर जाने अवस्था थियो।
पछिल्लो केही हप्तामै कोरोना भाइरसले युरोप र अमेरिकालाई पनि अत्याउन सुरु गरेको छ। चीनमा कोरोनाभाइरस विस्तार कम हुन थालेकै समयमा यी क्षेत्रमा कोरोना भाइरसको तीव्र विस्तार हुन थाल्यो। युरोपमा इटली सबैभन्दा बढी प्रभावित भएको छ। हाल त्यहाँ ‘लकडाउन’ लागू गरिएको छ। इटलीका छेउछाउका देश मात्र होइन, अन्य भागमा प्रकोपले उग्र रूप लिन थालेको छ। सेयर बजार धरमराउन थालेका छन्। विश्व स्वास्थ्य संगठनले प्रकोपलाई प्यान्डेमिक घोषणा गरिसकेको छ। सायद तपाईंले यो लेख पढिरहँदासम्म लन्डनजस्ता सहरका विमानस्थलमा स्वास्थ्य जाँच अनिवार्य भइसक्नेछ। यो सबबीच अमेरिका र युरोपका सरकारले भाइरसको विस्तारलाई नियन्त्रण गर्ने अवसर गुमाए।
जब चीन कोरोना भाइरस संक्रमणबाट प्रभावित भइरहेको थियो, धेरै देशले आफू चीनबाट टाढा भएकाले भाइरस आफूसम्म नआउनेजस्तो मानसिकता देखाए। सुरुमा भाइरसबारे जानकारी गराउने चिकित्सकमाथि चिनियाँ धरपकडले रोग अनियन्त्रित भएको भन्ने कथ्य पश्चिमा राष्ट्रमाझ पछिसम्म व्यापक थियो। चीनले जनवरीमा कठोर लकडाउन र क्वारेन्टाइन गर्ने निर्णय गर्दा पश्चिमका केही मूलधारका मिडियाले उक्त कदमलाई अनावश्यक रूपमा कठोर बताइरहेका थिए।
एक मिडियाले त १० दिनमा निर्माण भएको चिनियाँ अस्पताललाई हिटलरको ‘अटोवान’ निर्माणसँग तुलना गर्यो। र, जब चिनियाँ सरकारले संक्रमित व्यक्तिलाई परिवारबाट अलग्याउन क्वारेन्टाइन आवास प्रयोग सुरु गर्यो, पश्चिममा तिनलाई राज्यआतंकका रूपमा चित्रित गरिँदै थियो। तर, अहिले प्रकोपको विनाशकारी मोडबाट बाहिरिएर चीनले आफ्नो अनुभवलाई उदाहरणीयको रूपमा प्रस्तुत गर्न थालेको छ। उसले इरान र इटलीलाई चिकित्सकीय सामग्री तथा अन्य सुझाव दिएर सहयोग दिन सुरु गरेको छ।
चिनियाँ अधिकारीले डिसेम्बरको अन्त्य र जनवरी सुरुतिर समस्यालाई ढाकछोप गरेको मैले पनि महसुस गरेको हुँ। तर, चीनका सम्पूर्ण निर्णय सर्वसत्तावादी सोचका कारण लिइएका थिए भन्नु मूर्खतापूर्ण हुन्छ। चीनका सबै कमीकमजोरी उसको राजनीतिक प्रणालीको कारणले भएका थिएनन्। केही नीति सार्वजनिक हितलाई ख्याल गरेर लिइएका थिए।
उदाहरणका लागि, जनवरी सुरुमा चिनियाँ अधिकारीले सन्निकट महामारीको जोखिमलाई बेवास्ता गरेपछि आलोचना गर्नुअघि, त्यो समय एकजनाको पनि मृत्यु नभएको तथ्यमा पनि ध्यान दिनुपर्छ। बरु पछिका समय अमेरिका र अन्य सम्पन्न राष्ट्रले चालेको कदमलाई गैरजिम्मेवार मान्न सकिन्छ। चीनमा मर्नेको संख्या हजार नाघिसक्दा, अमेरिकी राष्ट्रपतिसमेत त्यहाँको संस्थापनको एक पक्षले जोखिमलाई न्यूनीकरण गरिरह्यो। उता, जर्मनीले उसको प्रकोप क्षेत्रमै खेलकुद प्रतियोगिता आयोजना गर्यो।
एसियाली राष्ट्र जापानले संक्रमित क्रुज जहाजबाट मानिसलाई विना परीक्षण देश भित्र्याउने निर्णय पनि त्यस्तै गैरजिम्मेवार मान्न सकिन्छ। यी देश अहिले विगतको कदमको व्याख्या गर्ने प्रयास गरिरहेका छन्, तर त्यसको लागि हप्तौँ ढिलो भइसक्यो। सुरुमा चीनका नेता आत्तिएकै हुन्, तर पछि तिनले अधिकांश लोकतान्त्रिक रूपमा निर्वाचित नेताले आजसम्म गरेकोभन्दा निर्णायक कदम चाले। चिनियाँ नेताले मतदाताको सामना गर्नु नपर्ला, तर ती वैधानिकतामा धेरै सचेत रहन्छन्। वैधानिकता तिनको उच्च प्रदर्शनबाट हासिल हुन्छ। त्यसैले त चिनियाँ सरकारले जनतामा आफ्ना कठोर कदम अत्यावश्यक छ भन्ने बुझाउन धेरै मिहिनेत गरेको देखिएको थियो।
‘लकडाउन’को सबैभन्दा कठोर अवधिमा म चीनमा थिएँ। मैले कुराकानी गरेका धेरैले कोरोना भाइरसविरुद्ध सरकारी कठोरताप्रति दिक्दारी व्यक्त गरेका थिए। तथापि तीमध्ये धेरैले सरकारी कदमलाई समर्थन देखिन्थ्यो। विमानस्थलमा तापक्रम जाँच गर्नु, सामाजिक दूरी लागू गर्नु वा सबैलाई निःशुल्क कोभिड–१९ को स्वास्थ्य सेवा प्रदान गर्नुमा त्यस्तो अधिनायकवादी कुरा देखिँदैन पनि।
चीन मात्र होइन, केही खुला समाज पनि लडखडाएनन्। सिंगापुर, ताइवान र दक्षिण कोरियाका कोरोना भाइरसविरोधी कदमले सकारात्मक नतिजा दिएको छ। सम्भवतः ती देश प्रकोपको नजिक भएको त्यहाँको सरकारले गम्भीरताका साथ कदम चाले। तर, अन्यत्रका धेरै देशले चीनमा भइरहेको घटनाक्रमले आफूलाई छुँदैन जसरी हप्तौँसम्म हेरेर मात्र बसिरहे।
(इयान जोनसन बेइजिङनिवासी बेलायती लेखक हुन्। उनी विगत २० वर्षदेखि चीनमा बसिरहेका छन्।)
यो लेख आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।