सामान्य परिवारमा जन्मेकी उनको लक्ष्य थियो जेटिए बन्ने, गाउँमै नमुना काम गर्ने अनि स्थानीय किसानलाई नयाँ कृषि विधि सिकाउने। यही दीर्घकालीन उद्देश्य लिएर जेटिए पढ्दै थिइन् उनी।
त्यतिमात्र होइन खेलमा पनि रुचि भएकाले गत वर्ष व्याकुल माइलाका नाममा स्थापित फुटबलमा दोस्रो स्थान हासिल गरेकी थिइन्। तर, उनी अर्थात् ओखलढुङ्गा जिल्लाको सोक्मटार हिलेपानी मानेभञ्ज्याङ–६ की सेमिका राईको त्यो जीवनयात्रामा अल्पविराम लागेको छ अहिले।
तीन महिना भयो उनी बिरामी भएर थलिएको। दर्जनौं अस्पताल धाउँदा पनि रोगको पहिचान हुन सकेको छैन। यसका लागि २ महिना त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र हुँदै १ महिनादेखि किस्ट मेडिकल कलेजमा नेफ्रोलोजी विभागका डा. सागरबाबु श्रेष्ठकहाँ पुग्दा मृगौलामा संक्रमण हुनुका साथै शरीरमा रगत कम भएको, उच्च रक्तचाप, थाइराइड, मुख तथा शरीर पूरै सुन्निएको थियो।
निरन्तर उपचारपछि अहिले केही सुधार आए पनि रोग पत्ता लगाउन नसकेको डा. श्रेष्ठको भनाइ छ।
१७ वर्षीया सेमिका मृत्यु जित्न दैनिक २८ वटा औषधि खान विवश छिन्। आफन्त र अभिभावकको सान्त्वनाकै कारण बाँच्ने आशा लिएर मृत्युसँग लडाई लडिरहेकी छन्। तैपनि घरीघरी टिलपिलाउँछन् उनका आँखा। सेमिकालाई चिकित्सकले बताएअनुसार उक्त रोगले मस्तिष्क, मुटु, कलेजो, फोक्सो, छाला, किड्नीलगायत जुनसुकै अ·प्रत्या· नष्ट गर्ने भएकाले शरीर बचाउनकै लागि यति धेरै औषधि खानुपरेको हो।
वुक हुँदै उनी भन्छिन्, ‘बाँचेर देश र समाजका लागि काम गर्ने धोको छ। मेरा बुबाले उपचार खर्च जुटाउन सक्ने अवस्था छैन। अहिलेसम्म आफन्तले सघाउँदै आउनुभएको छ। सरकार ! बाँचेर यो देशका लागि नमुना काम गर्न चाहन्छु तर दातासँग हात फैलाएर के सम्भव होला ? ठूला नेता, प्रधानमन्त्री, राष्ट्रपतिहरूलाई त राज्यले नै उपचार खर्च व्यहोर्दोरहेछ। म जस्ता गरिबलाई सहयोग पनि नगर्ने रहेछ।’आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।