काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिनका लागि नेपालले उच्च सतर्कता अप्नाएको छ। उच्च सतर्कता स्वरुप ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि आवतजावतमा रोक लगाउने तयारी गरेको छ। यद्यपी यसको निर्णय भने भोलि हुने स्रोतले जनाएको छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो। तर, भारतबाट भने आउजाउ रोकिएको छ।
हवाई मार्गबाट औसत दैनिक १५०-२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेको भएपनि स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी भएकाले त्यसमा पनि रोक लगाउने तयारी रहेको स्रोतले बताएको छ।
भारतमा अहिलेसम्म १४७ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ३ जनाको यसबाट ज्यान गइसकेको छ। त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतको दाबी छ।