काठमाडौँ । विश्व महामारीको रुप ल्याएको कोरोना भाइरस भित्रिन नदिन सरकारले उच्च सर्तकता अप्नाएको छ। विदेशमा रहेका नेपालीबाट कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने भन्दै युरोप, खाडी राष्ट्र इरान र मलेसिया तथा दक्षिण कोरिया र जापानमा रहेका नेपालीलाई नेपाल आउन रोक लगाएको छ।
पर्यटन मन्त्री योगेश भट्टराईले भन्नुभयो, 'मार्च २० अर्थात् शुक्रबार रातिदेखि यी देशबाट नेपालमा कुनै पनि उडान हुने छैनन्। त्यसैले यी देशमा रहेका नेपाली नागरिक पनि अब फर्कन पाउने छैनन्। ती देशमा रहेका नेपालीहरु अन्य ट्रान्जिट बनाएर समेत नेपाल आउन पाउने छैनन्।'
सरकारले युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी मुलुकहरू, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।