स्कुल/कलेजका पठन पाठन बन्द, सबै परीक्षा स्थगित

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १ : १८


काठमाडौं । सरकारले एसईई लगायत पूर्वनिर्धाति सबै परीक्षा अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले एसईई लगायतका सबै परीक्षा हालका लागि स्थगित गरेको हो।

यो निर्णयसँगै त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा समेत स्थगित भएका छन्।

यसअघि आजै दिउसो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ। उक्त बैठकले एसईई परीक्षा नरोक्ने निर्णय समेत गरेको थियो।

तर, लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एसईई परीक्षा स्थगित गर्नुपर्ने सुझाव दिएपछि अर्को निर्णय गर्दै समितिले एसईई लगायतका परिक्षा स्थगित गरेको हो।

एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित हुँदा टाढाबाट सदरमुकाम लगायत परीक्षा केन्द्रमा भेला भएका हजारौं विद्यार्थी मारमा परेका छन्।

सरोकारवालाहरुले भने परीक्षा स्थगित गरिएकोमा सरकारलाई धन्यावाद दिएका छन्। 

बुधबार दिउँसो बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको थियो।

सामाजिक तथा सांस्कृतिक र अन्य त्यस्तै कार्यहरु हुने पार्टी प्यालेस, मठमन्दिर, चर्च, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ।

यस्ता छन् निर्णय


प्रतिक्रिया दिनुहोस्