भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ।
उहाँहरुले मङ्गलबार टेलिफोनमा कुराकानी गर्नुभएको भारतीय अधिकारीले जानकारी दिएका छन्। भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उहाँहरुबीच मुख्य गरेर कोरोना भाइरसको सङ्क्रमण, त्यसबाट बच्न र त्यसका कारण हुने उत्पन्न परिस्थितीका बारेमा कुराकानी भएको जनाइएको छ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले कोरोना सङ्क्रमण नियन्त्रण र सामना गर्न संंयुक्त पहल र सहकार्य आवश्यक भएकोमा जोड दिनुभएको थियो।
कोरोना सङ्क्रमणको महामारीले विश्वका लाखौँ मानिसलाई प्रभावित पारेको र अर्थतन्त्रसमेतमा नराम्ररी असर परेको भन्दै दुवै नेताले चिन्ता व्यक्त व्यक्त गर्नुभएको थियो।
यसअघि प्रधानमन्त्री मोदीले आफ्नै अग्रसरता र प्रस्तावमा सार्कस्तरीय भिडियो सम्मेलनसमेत गराउनुभएको थियो।
दुई नेताले जी–२० देशका बीचमा पनि यस्तै भिडियो सम्मेलन गराउन प्रस्ताव र प्रयास गर्ने सहमति पनि भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।