काठमाडौं । थानकोट नजिकै तीनथानामा तीन जना मिलेर एक किशोरीलाई सामूहिक बलात्कार गरेको खुलेको छ।
चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा पार्किङ गरेर राखिएको ना ३ ख ६९४ ट्रकभित्रै चालक तथा सहचालक ३ जना मिलेर किशोरीलाई सामूहिक बलात्कार गरेका हुन्।
मंगलबार बिहान धादिङ घर जान गाडी कुरेर बसेकी किशोरीलाई हामी लगिदिन्छौं भन्दै ट्रक ड्राइभर र सहचालक मिलेर बलात्कार गरेको थानकोटस्थित महानगरीय प्रहरी वृत्तका डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो।
श्रेष्ठका अनुसार धादिङकी ती किशोरी घर जान बिहानै गाडी कुरेर बसेकी थिइन्। त्यस क्रममा तीन जनाले फेला पारी उनलाई घर पुर्याइदिने भन्दै सडक किनारमा पार्किङ गरी राखिएको ट्रकभित्र लगेर सामूहिक बलात्कार गरेका रहेछन्।
बलात्कार आरोपीहरु पक्राउ
बलात्कारमा संलग्न आरोपमा प्रहरीले तीनैलाई पक्राउ गरिसकेको छ। र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका–९ का पासाङ तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का कपिल खड्का र दाङ राप्ती गाउँपालिका–१ का सञ्जय घर्ती मगरलाई पक्राउ गरिएको हो। उनीहरू २० देखि २५ वर्षसम्म उमेरका रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई थानकोट प्रहरी वृतको हिरासतमा राखेर प्रहरीले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।