काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई पनि बेपत्ता व्यक्तिको सूचीमा राखेको छ । आयोगले सार्वजनिक गरेको २५ सय ६ जना व्यक्तिको सूचीमा मन्त्री मगरको पनि १९० नम्बरमा राखिएको छ ।
बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको सूचीमा देशकै खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको नाम समावेश गरिएको छ । आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत देखिन्छ ।
आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताउनुभयो । ‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिएको होला’, घिमिरेले भन्नुभयो, ‘उहाँसँग बयान लिएर कुन किसिमको राहत दिने, उजुरीलाई कसरी टुंग्याउने भन्ने निर्णय भएपछि बेपत्ताको सूचीबाट हटाइन्छ । अहिले अनुसन्धानकै क्रममा छ ।’
आयोगको सूचीमा सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्् । बर्दियामा २ सय ५४ जनाको नाम छ । त्यस्तै, दाङमा १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । उजुरी निवेदनका आधारमा बेपत्ता पारिएका व्यक्तिको नामावली सार्वजनिक गरेको आयोगले जनाएको छ ।