काठमाडौं । भारतमा चर्चीत निर्भया बलात्कार तथा हत्या मुद्दाले नयाँ मोड लिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मुद्दाका दोषी पवन, अक्षय र विनयले फाँसी रोक्न माग गर्दै अन्तराष्ट्रिय अदालतमा निवेदन दिएका छन् ।
उनिहरुको निवेदनसँगै आगामी मार्च २० मा हुने फाँसीको सजायँ टल्ने सम्भावना बढेको छ । निर्भया हत्याका दोषीहरुले भारतको कानूनमा भएका विकल्प प्रयोग गरेपछि अन्तराष्ट्रिय अदालत पुगेका हुन् ।
गत ५ मार्चमा निर्भया हत्याका चारै जना दोषीलाई डेथ वारेन्ट जारी गरिएको थियो । दिल्ली कोर्टले चारै दोषीलाई एकैपटक २० मार्चको बिहानै ५ः३० बजे फाँसी दिने आदेश गरेको थियो । अब उनिहरुले फाँसी रोक्न अन्तराष्ट्रिय अदालत गएसँगै फाँसीको मिति सर्न सक्ने सम्भावना बढेको छ ।
निर्भया बलात्कार तथा हत्या मुद्दाका ४ जना दोषीलाई फाँसी दिइने भनि गरिएको निर्णय तीन पटकसम्म सरेको थियो ।
पहिलो पटक – २२ जनवरीको बिहान ६ बजे फाँसी दिन तय, तर रोकियो ।
दोस्रो पटक – १ फ्रेबुअरीमा फाँसी दिन तय, तर रोकियो ।
तेस्रो पटक – ३ मार्च बिहान ६ बजे फाँसी दिन तय, तर दोषी पवनको साथमा कानूनी विकल्प हुँदा फाँसी पुनः टलेको थियो ।
दिल्लीको पैरामेडिकल कलेजकी छात्रा निर्भयामाथि १६ डिसेम्बर २०१२ को रात ६ जना व्यक्तिहरुले चलिरहेको बसभित्र बलात्कार गरेका थिए । गम्भिर अवस्थामा भेटिएकी उनको २६ डिसेम्बरको दिन उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको ९ महिनापश्चात सेक्टेम्बर २०१३ मा भारतको तल्लो अदालतले ५ दोषी राम सिंह, पवन, अक्षय, विनय र मुकेशलाई फाँसीको सजायँ सुनाएको थियो । २०१४ मा उच्च अदालत र २०१७ मा सर्वौच्च अदालतले फाँसीको निर्णयलाई सदर गरेको थियो ।
अदालती प्रक्रिया चलिरहेको बेला बलात्कारका मुख्य दोषी राम सिंहले तिहाड जेलमा फाँसी लगाएर आत्महत्या गरेका थिए । एक दोषी नाबालिग भएको कारण ३ वर्षपछि सुधार गृहबाट छुटेका थिए ।