राप्रपा र साझा पार्टीको असली अनुहार देखिएको भन्दै कांग्रेस सांसद जितेन्द्रदेव भन्छन्– ‘दुर्घटनाका लक्षणहरु देखिए’

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ८ : १०


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले देशमा प्रतिगमनकारी दुर्घटनाको लक्षण देखिन थालेको बताउनुभएको छ।

परम्परागत विचार राख्ने राप्रपाको एकीकरण र त्यसले लिएको एजेण्डा तथा आफूलाई आधुनिक पार्टी बताउने साझा पार्टीको एजेण्डा मिल्नु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि खतरा मात्रै नभई प्रतिगमनकारी दुर्घटनाको लक्षण भएको बताउनुभयो।

राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस नेता देवले क्रान्ति गर्नु निकै कठीन र दुरुह काम भएको चर्चा गर्दै क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्नु त्यो भन्दा निकै कठीन र दुरुह काम भएको बताउनुभयो।

‘एउटा परम्परावादी पार्टी राप्रपा र अर्को आफूलाई एकदमै आधुनिक (मोर्डन) पार्टी हौं भन्ने साझा पार्टी, एनजिओ पार्टीको असली अनुहार सामुन्ने आउँदै गरेको अवस्था छ, उहाँले भन्नुभयो, ‘यो अवस्थामा नेपाली क्रान्तिको नेतृत्व गर्ने राजनीतिक शक्तिहरु, नेताहरु र सरकार चिन्तित हुने कि नहुने? यस्तो बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका नेपालका राजनीतिक शक्तिहलाई एउटा सहमतिमा लिएर अघि बढ्ने कि नबढ्ने?’

नेपाली जनताको ठूलो बलिदानबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको चर्चा गर्दै उहाँले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विरुद्धमा गतिविधि खुलेआम बढिरहेको बताउनुभयो। 

‘तीनवटा टुक्रामा रहेको राप्रपाले एकता गरेर संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विषयमा प्रश्न खडा गरेको छ। हिन्दूराज्य घोषणा र राजतन्त्र फर्काउने माग गरिरहेको छ, उहाँले भन्नुभयो, ‘अर्को साझा पार्टीले संघीयता र धर्मनिरपेक्षता ठीक छैन, यसको जनमत संग्रह गर्नुपर्छ भनेको छ, यस्तो बेलामा गणतन्त्र पक्षधर राजनीतिक पार्टीहरु एक ठाउँमा आउने कि नआउने?’ 

सत्तारुढ नेकपामा पार्टीको आन्तरिक विवाद हल गर्न संविधान संशोधनको बहस चल्नु दुःखद भएको चर्चा गर्दै उहाँले संविधान घोषणा गर्दा विमति राख्ने गणतन्त्र पक्षधरहरुको अग्रगामी मागहरुका लागि संशोधन आवश्यक रहेको बताउनुभयो। 

मधेशी, थारु तथा विभिन्न जातजाति र समुदायको नाम उल्लेख नगरी नेता देवले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सँगसँगै लडेका शक्तिहरुका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र प्रतिगमनकारी शक्तिका विरुद्ध लड्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

‘अग्रगामी रुपमा हिड्न चाहने र गणतन्त्रको मूल प्रवाहमा समेट्नका लागि संविधान संशोधनको पहल हुनु जरुरी छ, न कि पार्टीभित्रको आन्तरिक समीकरण हल गर्न’, उहाँले भन्नुभयो, ‘हिन्दूराष्ट्र माग गर्ने, संघीयता, धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्ने र राजतन्त्रसम्म फर्काउने खालका मागहरु उठिरहेका बेला क्रान्तिको नेतृत्व गरेका शक्तिहरु एक ठाउँमा आउनुपर्दैन?’

उहाँले परिवर्तनकारी शक्तिहरु आपसमा लडिरहँदा अरुलाई फाइदा पुगिरहेको र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुने बताउनुभयो।
 


प्रतिक्रिया दिनुहोस्