नेपाल फर्किन नपाएपछि चिनियाँ ईञ्जिनियरले अनलाइनबाटै काम थाले

प्रकाशित मिति : १ चैत्र २०७६, शनिबार  १ : ४७


दमौली । तनहुँमा निर्माणधिन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ प्राविधिकले स्वदेशबाटै अनलाइनमा काम थालेका छन्। 

चिनियाँ सिनो हाइड्रो कम्पनीले ठेक्का पाएको आयोजनाको विद्युत गृहको काम एक वर्षयता ऋषिङ गाउँपालिकाको झापुटार क्षेत्रमा जारी छ। तर चीनमा देखिएको कोरोनाको संक्रमणसँगै चिनियाँ बहुल उच्च प्राविधिक कर्मचारीको अभावमा काम प्रभावित भएपछि अनलाइनबाटै विकल्प खोजिएको हो।

चीनमा कोरोनाको प्रकोप शुरु हुनु अघि नै नयाँ वर्ष मनाउन गएका ईञ्जिनियरसहितका कर्मचारी यात्रा प्रतिबन्धका कारण आउन सकेका छैनन्। काम प्रभावित हुन थालेपछि चिनियाँ इञ्जिनियरहरुले डिजाइनसहितका अरु प्राविधिक काम अनलाइनबाटै गर्न थालेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले बताए। ‘काम धेरै प्रभावित नहोस् भनेर उहाँहरुले उतैबाट काम थालेको जानकारी पाएका छौं,’ उनले भने।

आयोजनाका वरिष्ठ अधिकृत तुलसी सापकोटाका अनुसार निर्माण कम्पनी सीनो हाइड्रोले सामान्य श्रमिकका रुपमा झण्डै दुई सय नेपालीलाई काम दिए पनि ईञ्जिनियर र दक्ष प्राविधिकको काम चिनियाँलाई नै दिएको छ। उनका अनुसार २५ को हाराहारीमा चिनियाँ प्राविधिक आयोजनामा कार्यरत छन्। तर बिदा मनाउन गएका भण्डै एक दर्जन कर्मचारी फर्कन सकेका छैनन्। ‘केही कर्मचारी कोरोनाका कारण फर्कन सकेका छैनन्,’ उनले भने,‘तर पहिल्यैदेखि यहाँ भएकाले भने काम गरिरहेका छन्।’ आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्