मेलम्ची आयोजनाको कामप्रति मन्त्री मगर सन्तुष्ट, चाँडै कम सक्न निर्देशन

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ५९


काठमाडौं । खानेपानी मन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गर्नुभएको छ ।

मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा उहाँले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिनुभयो । ‘सरकारले तोकेको समयमै पानी आउनेगरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्’, उहाँले निर्देशन दिँदै भन्नुभयो, ‘आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँकतैबाट असर नपुग्ने गरी काम सक्नु होला ।’

मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौंको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो । कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र गतिले अघि बढिरहेको बताउनुभयो । खत्रीका अनुसार अहिले सुन्दरीजलमा पानीको वास आउट पाइप जडान कार्य भइरहेको र इन्भर्ट लाइनिङको काम चलिरहेको छ ।

पानी वितरण पाइपलाइनका लागि आवश्यक पर्ने सामानहरु कार्यस्थलमा आइसकेको उहाँले जानकारी दिनुभयो । ‘सुरुङमा लाग्ने गेट पनि साइटमा आइसकेको छ’, खत्रीले भन्नुभयो, ‘अहिले गेट जडानका लागि आवश्यक निर्माण कार्य भइरहेको छ । अब सुन्दरीजलको काम सक्न धेरै समय लाग्दैन ।’

ठेकेदार कम्पनी सिनो हाइड्रोले अहिले अम्बाथानमा हेडवक्र्स (मुख्य बाँध)को काम धमाधम गरिरहेको छ । हेडवक्र्सको काम करिब ५५ प्रतिशत सम्पन्न भइसकेको छ । हेडवक्र्सको काम भइरहँदा कपर ड्याम (अस्थायी ड्याम) बनाएर मेलम्चीको पानी सुरुङभित्र पठाउनका लागि काम अघि बढिरहेको खत्रीले बताउनुभयो ।
   
सुरुङबाट सुन्दरीजलसम्म पानी ल्याइसकेपछि पानी प्रशोधन गर्नका लागि सुन्दरीजलमै दुईवटा प्रशोधन केन्द्र समेत बनाइएको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे ८—८ करोड लिटर क्षमताका दुइवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र वितरण गरिने छ ।

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका ट्यांकीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पुराइनेछ ।


प्रतिक्रिया दिनुहोस्