तिलोत्तमा पहिलो शून्य पोलिथिन घोषित

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १० : ०४


रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गरिएको छ।

आज आयोजित घोषणा कार्यक्रम तथा कोरोना भाइरसको महामारीविरुद्ध सचेतना अभियानमा नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख घोषणा गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो। 

उहाँले अब सङ्घ, प्रदेश र स्थानीय तह सबैले सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। “पृथ्वी बचाउनु भनेको आफू बाँच्नु हो, पृथ्वीमा भएका जल, जमीन, जङ्गल जोगाउन जरुरी छ”, उहाँले भन्नुभयो। पोलिथिनजन्य वस्तुको प्रयोगले भविष्यमा सन्ततिको जीवन नारकीय बन्ने भएकाले  समयमै सचेत बनेर नगर सफा राख्न उहाँले आग्रह गर्नुभयो। 

कार्यक्रममा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले तिलोत्तमाबाट शुरु भएको अभियान देशभरि चलाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो “यो नगरमात्र सफा भएर हँुदैन, यो अभियानलाई सबै स्थानीय तह, प्रदेश र देशव्यापी बनाउनुपर्छ।”

प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान र टोल सफा देखिएको र यसले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
 
जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, प्रा भैया खनाल र  क्रिमसन अस्पतालका डा कृष्णचन्द्र गोदारले यसको निरन्तरताका लागि नगरवासी क्रियाशील रहनुपर्ने बताउनुभयो।

नगरवासीका घरआँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जङ्गल, सडक–बाटो, सार्वजनिकस्थलबाट झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहर सङ्कलन गरी व्यवस्थापन गरिएपछि नगरलाई शून्य पोलिथिन घोषणा गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो। शून्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको बताउँदै उहाँले नगरका सार्वजनिक स्थानमा कम्तीमा एक हजार डष्टबिन राख्ने योजना रहेको जानकारी दिनुभयो। बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत सो विषयलाई समेटिएको नगरप्रमुख घिमिरेले जानकारी गराउनुभयो।

यहाँका विद्यालय तथा टोलटोलमा ‘माई पकेट, माई फष्ट डष्टबिन’ अर्थात् मेरो खल्ती, मेरो पहिलो डष्टबिन भन्ने कुराको प्रचार गरिएको र  सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ। जथाभावी फोहर फयाँक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानून निर्माण गरिएको उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो।

नगरलाई शून्य पोलिथिन घोषणा गर्न सिम नेपालसँगको सहकार्यमा  आठ महिनादेखि शून्य पोलिथिन अभियान चलाइएको थियो। शून्य पोलिथिन अभियानसँगै यहाँका सडक, सार्वजनिक स्थान, कुलो–नहर विगतको तुलनामा धेरै सफा देखिएका छन्। शून्य पोलिथिन अभियानको प्रभावको सन्दर्भमा वातावरणविद्, सरकारी अधिकारी तथा सञ्चारकर्मीले अनुगमन समेत गरेका थिए।

‘ग्रिन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ सरसफाइ अभियान सञ्चालन भइरहँदा पोलिथिनजन्य फोहरले मानव स्वास्थ्य, शहरी सौन्दर्य, कृषि उत्पादन र वातावरणमा सबैभन्दा बढी नकारात्मक असर पारेको तथ्य मनन गरी नगरपालिकाले सिम नेपालसँगको सहकार्यमा शून्य पोलिथिन अभियान चलाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो।
 
मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलोपटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौँदेखि थुप्रिएको पोलिथिन फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष वातावरणविद् निपेश ढकालले बताउनुभयो।

अभियानको सफलता माटोमाथिको विजयी भएको उल्लेख गर्दै उहाँले यसलाई निरन्तरता दिन तिलोत्तमावासीलाई आग्रह गर्नुभयो।


प्रतिक्रिया दिनुहोस्