कोरोना भाइरसबारे जान्न मन लाग्यो ? डायल गर्नुस्- १११५

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ९ : २३


काठमाडौं । सरकारले कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन शुक्रबारबाट २४ सै घण्टा उपलब्ध हुने ‘कल सेन्टर’ स्थापना गरेको छ।

कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न कल सेन्टरको सुविधा सुरू गर्न लागिएको हो।

कोरोना भाइरसका बारेमा केही जिज्ञासामा लागेमा कल सेन्टरमा फोन गरेर सोध्न सकिने रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताउनुभयो। 

‘अब आज (शुक्रबार)बाट कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लाग्यो भने १११५ नम्बरमा कल गर्न सक्नुहुन्छ’ निर्देशक पाण्डेले भन्नुभयो, ‘कल सेन्टर २४ सै घन्टा सञ्चालन हुनेछ।’ 

कल सेन्टरमा ६ जना कर्मचारीलाई राखिएको र उनीहरुले सोधिएका प्रश्नहरुको जवाफ दिने पाण्डेले बताउनुभयो। 

त्यस्तै कसैलाई औषधी र अस्पतालबारे जानकारी लिन चाहे पनि कल सेन्टरबाट उक्त सुविधा पनि पाइने उहाँको भनाई छ। पाण्डेका अनुसार कोरोना भाइरसबाहेक अन्य चासो पनि कल सेन्टरमा फोन गरेर सोध्न सकिनेछ।

‘कसैले ज्वरो, रूघाखोकी लाग्यो भने के गर्ने भनेर सोध्न सक्नुहुन्छ। हामी उहाँहरूलाई पायक पर्ने अस्पताल जान सुझाउँछौं, उहाँले भन्नुभयो, ‘साथै कोरोनाभाइरसको चेक जाँचबारे कुनै गुनासो छ भने त्यो पनि जानकारी गराउन सकिनेछ।’


प्रतिक्रिया दिनुहोस्