कोरोना भाइरसविरुद्ध लड्न मोदीले सम्झिए सार्क

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ४५


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको नेतृत्वमा कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न प्रस्ताव गर्नुभएको छ।

शुक्रबार ट्वीटरमार्फत उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गर्नुभएको हो।

उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले  बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडियो कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं। सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।’

उहाँले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताउनुभएको छ। मोदीले सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि दावी गर्नुभएको छ।

सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन्। हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।

भारत–पाकिस्तानको विवाद बढेसँगै सार्कको भविष्यमा पनि अन्योल उत्पन्न भएको थियो। सार्कमा नेपालपछि अध्यक्षता गर्ने पालो पाकिस्तानको रहेको र जम्भु–कश्मिर विवादमा भारत–पाकिस्तानबीच द्वन्द्व बढेसँगै सार्क निस्क्रियजस्तै बनेको थियो।

प्रधानमन्त्री मोदीले यसअघि राजनीतिक मुद्दाहरूमा सार्कलाई बेवास्ता गर्दै आउनुभएको थियो। भारत–पाकिस्तान विवादले इस्लामावादमा हुने भनेको सार्क सम्मेलन हुन सकेको छैन। मोदी सत्तामा आएपछि काठमाडौंमा एकपटक सार्क सम्मेलन भएको थियो।

पछिल्लो समय मोदीले पाकिस्तान सदस्य नरहेको विम्स्टेकलाई सक्रिय बनाउन जोड दिँदै आउनुभएको थियो। लामो समयपछि मोदीले कोरोना भाइरसको प्रकोपविरुद्ध लड्न सार्कको नाम लिनु अर्थपूर्ण रहेको छ।


प्रतिक्रिया दिनुहोस्