घरेलु रक्सीको अत्यधिक सेवनले गयो ५ जनाको ज्यान

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ५ : ५२


जनकपुर । घरमै बनाएको रक्सी खाएर धनुषामा पाँच जनाको ज्यान गएको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक रक्सी सेवनका कारण ५ जनाको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय विलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेका छन्।

बुधबार ३ जनाको ज्यान गएकोमा बिहीबार थप २ को पनि ज्यान गएको बताइएको छ।

सुरुमा कालगतिले मृत्यु भएको भनिए पनि शुक्रबार बिहान अनुसन्धान गर्दा अत्यधिक रक्सीले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो।

घरेलु रक्सीकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेका छन्। सिकिस्त बिरामी २७ वर्षीय इनरजीत महरालाई घोपा क्याम्प धरान पठाइएको प्रहरीले जनाएको छ।

मृतककको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएका प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्