शान्ति मिसनमा सेना नपठाउन नेपाली सेनालाई राष्ट्रसंघकाे पत्र

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ३ : १३


काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ ।

राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ । उनीहरू यसै महिना जाने तयारीमा थिए ।
राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको बताए । ‘शान्ति मिसनका लागि दक्षिण सुडान जान हाम्रो टोली तयारी अवस्थामा थियो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘अर्को निर्णय आउनेबित्तिकै उनीहरू जान्छन् । राष्ट्रसंघको आग्रहमा तत्काल सेना नपठाउने निर्णय गरेका हांै ।’

राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि केही लम्बिएको छ । नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कने छन् । राष्ट्रसंघले अर्को निर्णय नगरुन्जेलसम्म त्यहाँ पुरानै टोलीले काम गर्नेछ ।

राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ ।

पछिल्लो तथ्यांकअनुसार राष्ट्रसंघका विभिन्न मिसनमा पाँच हजार ९६ जना सैनिक अधिकारी तैनाथ छन् । राष्ट्रसंघको आग्रहमा नेपाल प्रहरीका २ सय ३९ र सशस्त्र प्रहरीका ३ सय ६४ जना विभिन्न शान्ति मिसनका काम गर्दै आएका छन् । नेपाली सेनाले सन् १९५८ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत पहिलोपटक लेबनानमा पाँच जना सैनिक पर्यवेक्षक पठाएको थियो ।

सन् १९७४ मा शान्ति सेना स्थापनार्थ इजिप्टमा पहिलो नेपाली कन्टिजेन्टका रूपमा पुरानो गोरख गण खटिएको थियो । सन् १९५८ देखि हालसम्ममा १ लाख २९ हजार ८ सय ९९ सैनिक अधिकारी राष्ट्रसंघको आह्वानमा विभिन्न शान्ति मिसनमा खटिइसकेका छन् । तीमध्ये एक हजार चार सय १ महिला छन् । 
-अन्नपूर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस्