बजारमा खाने पकाउने ग्याँसको अभाव

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : २६


काठमाडौं । पछिल्लो दुई साता यता बजारमा खाने पकाउने ग्याँसको अभाव हुन थालेको छ । कोरोना भाइरसको त्रासका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्याँस भरेर राख्न थालेपछि बजारमा ग्याँस अभाव हुन थालेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उपभोक्ताले आवश्यकताभन्दा बढी खाली सिलिन्डर भर्न थालेपछि नेपाल ग्याँस आपूर्तिमा समस्या देखिएको बताए । बजारमा नेपाल ग्याँस प्रयोग गर्ने उपभोक्ता धेरै हुँदा एकपटक माग बढेपछि नेपाल ग्याँसलाई मागअनुसार आपूर्ति गर्न केही समस्या भएको पौडेलले बताए ।

पौडेलले भने, ‘बाहिरबाट ग्याँस आयातमा कुनै समस्या छैन । आउनुपर्ने ग्याँस आई नै रहेको छ । १० दिनमा मात्र साढे १६ हजार मेट्रिक टन ग्याँस आयात भएको छ । हामीले बजार ग्याँस सहज रूपमा आपूर्ति होस् भन्ने उद्देश्यले मासिक ३८ हजार मेट्रिक टन आयात हुँदै आएको ग्याँसको कोटा बढाएर ४५ हजार मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था गरेका छौं । नेपाल ग्याँसबाहेक अन्य ग्याँस कम्पनीले आपूर्ति गर्दै आएको ग्याँस अभाव समस्या आएको छैन ।’

उपभोक्ताले ग्याँस नपाएर खाना पकाएर खान पाउँदैन किन भनेर आत्तिनुपर्दैन । बजारमा पर्याप्त मात्रामा ग्याँस आपूर्ति भइरहेको छ । उपभोक्ताले आफंै सचेत भएर आवश्यकताभन्दा बढी ग्याँस घरमा नराख्ने हो भने अहिले बजार देखिएको समस्या दुई दिनमै समाधान हुने उनको दाबी छ । हल्लाको भरमा अनावश्यक ग्याँस सिलिन्डर खरिद गरी राख्ने प्रवृतिले यस्ता समस्या आउने गरेको निर्देशक पौडेलको भनाइ छ ।

एलपी ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले उद्योगीसँग करिब १० हजार टन मौज्दात रहेको बताउँछन् । नेपालमा ५९ ग्याँसका गरी १ करोड ५ लाख सिलिन्डर उनले बताए । भण्डारीले उद्योगले मासिक २८ देखि ३० लाख सिलिन्डर भर्दै आएका छन् । सबैभन्दा बढी नेपाल ग्याँसको सिलिन्डर बजारमा रहेको बताए । बजारमा नेपाल ग्याँस सिलिन्डर धेरै भएकाले अभाव देखिएको हो । यो समस्या केही दिनमैभित्र नै समाधान हुने भण्डारीको भनाइ छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा अनुगमनका क्रममा नेपाल ग्याँसकै लाइन बढी देखिएको बताए । महानिर्देशक सुवेदीले विभागले सञ्चालन ल्याएको टोल फ्री नम्बर ११३७ मा धेरै जस्तो गुनासो नेपाल ग्याँस नपाएको आउने गरेको बताए । सुवेदीका अनुसार काठमाडौं उपत्यकामा ५० प्रतिशत नेपाल ग्याँस प्रयोग गर्ने उपभोक्ता छन् । 
-राजधानी दैनिक


प्रतिक्रिया दिनुहोस्