१२५ देशमा कोरोना भाइरसको सङक्रमण, चार हजार ७०० को मृत्यु

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १२ : ४५


काठमाडाैं । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण बिहीबार (१२ मार्च) सम्म १२५ देशमा पुगेको छ । भाइरसका कारण अहिलेसम्म संसारका एक लाख २९ हजार १५८ जनामा सङ्क्रमण भएको छ ।

तीमध्ये चार हजार ७ ४९ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ६८ हजार ६५४ जनाको सफल उपचार भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बाँकी बिरामी अवस्थामा नै रहेका ५५ हजार ६५५ जनामध्ये ५० हजार ४४ जना अर्थात् कूल ९० प्रतिशतको अवस्था सामान्य रहेको छ ।

तर पाँच हजार ७११ जना अर्थात् हाल बिरामी नै रहेका १० प्रतिशत सङ्क्रमितको अवस्था भने गम्भीर रहेको छ । रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ ।

इरानमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८४ जनाको मृत्यु भएको छ । पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ ।

पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् । पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ ।

कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो ।

भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ । सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ–नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्