स्वास्थ्य मन्त्रालयले भन्यो, नेपालमा कोरोना संक्रमण देखिए ‘लक डाउन’ गर्छौँ

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  २ : ३६


काठमाडौँ । सरकारले नेपालका कुनै पनि स्थानमा कोरोना भाइरसको संक्रमण देखिए लक डाउन गर्ने बताएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यकबाहेक अरु सेवा बन्द गर्ने सरकारको योजना रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, 'सरकारले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डाउन गर्नेसम्मको तयारी हामीसँग छ। आवश्यक परे उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ। आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल पनि परिचालन गर्ने तयारी गरेका छौँ।' 

उनका अनुसार ४३ वटा सीमा नाकामा सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।

अहिलेसम्म साढे ४ सयको परीक्षण गर्दा एकजनामा बाहेक अरुमा संक्रमण नदेखिएको उहाँले बताउनुभयो। अहिले कोरोनाको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथग अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको पनि उहाँले जानकारी दिनुभयो। 

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म १२४ देशमा फैलिएको छ। विश्वस्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्व महामारीको घोषणा गरेको छ। 


प्रतिक्रिया दिनुहोस्