हत्या आरोपमा फरार बाबु–छोरा पक्राउ

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : २५


चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा आज पक्राउ परेका छन्।

सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।

आरोपितले विसं २०६२ असोज १७ गते गोली हानी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो।

घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए।

प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो।

पक्राउ परेका आरोपितलाई आज साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्