रकेट हमलामा दुई अमेरिकी र एक बेलायती सैनिकको मृत्यु

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : १०


इराक । इराकमा रहेको एक सैनिक शिविरमा बुधवार भएको रकेट आक्रमणमा परी दुई अमेरिकी र एक बेलायती सैनिक मारिएका अमेरिकी अधिकारीले जानकारी दिएका छन्।

बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिविरमा सो आक्रमण भएको थियो। उक्त शिविरमा अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर्न मद्दत र्पुयाइरहेका छन्।

अमेरिकी नेतृत्वको यस गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिमा तीन कर्मचारी मारिनुको साथै अन्य १२ जना घाइते भएका बताइएको छ। एक अमेरिकी अधिकारीले भनेअनुसार मृतकमा दुई अमेरिकी र एक बेलायती नागरिक रहेका थिए। 
  
यो आक्रमणले खतरा निम्त्याएको बताइएको छ। यसलगत्तै पूर्वी सिरियामा इरानका सहयोगी इराकी लडाकूहरूलाई अमेरिकी नेतृत्वको गठबन्धनले हवाई आक्रमण गरेको र यसमा परी कम्तीमा १८ लडाकू मारिएका सिरियाको युुद्ध निरीक्षण गरिरहेका एक मानव अधिकारवादी समूहले जनाएको छ। 

इराकी सेनाले भने रकेट एक ट्रकको पछाडिबाट चलाइएको तर यसले कुनै हताहत भएको टिप्पणी गरेको छैन।

यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र बेलायती विदेश मन्त्री डोमिनिक राबबीच टेलिफोन वार्ता भएको र दुवैले उक्त रकेट हमलाको निन्दा गर्नुभएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्