चीनले भन्यो– कोरोना भाइरसलाई जित्यौं’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १२ : ४२


काठमाडौं । चीनले घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई जितेको बताएको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको चीनले सङ्क्रमणको उच्च विन्दु पार गरेको जनाउँदै त्यसको प्रकोप सकिएको जनाएको हो।

विश्व स्वास्थ्य सङ्गठनले भाइरस सङ्क्रमणको समस्या प्रकोपका रूपमा विश्व आपतकाल घोषणा गरेको केही घण्टापछि चीनको यो भनाई आएको हो।

कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताउनुभयो। उहाँले भन्नुभयो, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको छ।”

नयाँ संक्रमण नदेखिएको र प्रकोप घट्दै गएको पनि प्रवक्ता फेङले बताउनुभयो। प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको जानकारी गराउनुभयो।

मीले भन्नुभयो, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा भरेको छ।” 

“हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उहाँले भन्नुभयो। 

उहाँले थप्नुभयो, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन्।” 

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाई थियो।

विश्व स्वास्थ्य सङ्गठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ।
 
बुधबारसम्ममा विश्वभर  एक लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस सङ्क्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गुमाएका सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकारसम्मेलनमा बताउनुभयो।

आगामी केही दिन (हप्ता) कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो।
 
प्रवक्ता मीले भन्नुभयो, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र सङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ।” 

मंगलबार मात्रै चिनियाँ राष्ट्रपति सी चिनिफिङ हुबेईको वुहानका विभिन्न अस्पताल पुगेर बिरामी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुलाई भेट्नुभएको थियो।

चीनले पछिल्लो समय बिरामी निको भएको भन्दै १६ वटा अस्थायी अस्पतालहरु बन्द गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्