कुर्सीको खोल देखाउँदै सांसदले भनिन्– ‘कोरोना भाइरसको खतरा संसदमै छ’

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ६ : ४५


काठमाडौँ । समाजवादी पार्टीकी सांसद रेणु यादवले कोरोना भाइरसको संक्रमण संसद भवनबाटै हुनसक्ने भन्ने सरकारले लापरवाही गरिरहेको आरोप लगाउनुभएको छ।
 
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद यादवले आफू बसेको कुर्सीको खोल देखाउँदै भन्नुभयो, ‘यी कुर्सीका खोलहरु नै यति फोहर छन्, सरकारले कोरोनाको संक्रमणबाट बच्न बारम्बार हात धुनु भनेर विज्ञापनमात्र गरिरहेको छ, सदनभित्रै यस्तो फोहोर छ, यसलाई छोएपछि बारम्बार हात धुन कहाँ जाने?’

कोरोना भाइरस नेपालमा भित्रिन नदिन सरकारले सतर्कता नअपनाएको आरोप लगाउँदै सांसद यादवले भीडभाडयुक्त क्षेत्र बन्द गर्नुपर्ने, शैक्षिक संस्था बन्द गर्नुपर्ने जस्ता विषयमा सरकार गम्भीर नदेखिएको बताउनुभयो। 

विश्वका थुप्रै देशहरु लगायत भारतले समेत आफ्नो सुरक्षाका लागि संयन्त्र तयार पारि सबैतिर प्रतिबन्ध लगाइरहेको भन्दै उहाँले नेपाल सरकार भने खाली विज्ञापन र भाषणमा मात्र केन्द्रित भएको आरोप लगाउनुभयो।

संसद बैठक स्थगित गर्न कांगेस सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै केही समयका लागि संसद बैठक रोक्न माग गर्नुभएको छ।

भीडभाड हुने ठाउँहरु, शैक्षिक संस्था र संसद बैठक बन्द गर्नुपर्ने माग गर्दै सांसद प्रधानले सरकारले बेलैमा सजगता अपनाउन पहल गर्नुपर्ने बताउनुभयो।

बिहीबार प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद प्रधानले भन्नुभयो, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’

तत्काल कोरोना भाइरस कसरी रोक्ने भन्नेबारे सरकारको एक्सन आउनुपर्ने भन्दै सांसद प्रधानले भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्ने माग गर्नुभयो।
 


प्रतिक्रिया दिनुहोस्