विवाह मण्डपमा पुग्यो प्रहरी, बेहुला, बेहुलीसहित ३ जना पक्राउ

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ३ : ३२


जिल्ला प्रहरी कार्यालय दाङले बालविवाह गराइरहेका तीन जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका– १४ ढोडेनी गाउँमा भइरहेको रोक्न गएको प्रहरीले दुलाहासहित तीन जनालाई पक्राउ गरेको हो । 
    
पक्राउपर्नेमा दुलाहा घोराही उपमहानगरपालिका– १३ सेवारका ३० वर्षीय कृष्णबहादुर केसी, घोराही– १४ ढोडेनी बस्ने दुलहीका बुवा ४६ वर्षीय वसन्त भण्डारी र १८ वर्षीया दुलही रहेका छन् । उक्त गाउँमा बालविवाह भइरहेको सूचना पाएको प्रहरीले आज पक्राउ गरेको हो । 

पक्राउ परेकामथि मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ११ को दफा १७३ बालविवाह गर्न नहुने कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार दुलहीलाई आमाको जिम्मा लगाइएको छ। 


प्रतिक्रिया दिनुहोस्