नेपालीको बाक्लो उपस्थिति रहेको कुवेत १४ दिन बन्द

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  २ : ५०


काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई रोक्न विभिन्न देशले विभिन्न उपाय अवलम्बन गरेका छन्। यसै क्रममा नेपालीको बाक्लो उपस्थिती रहेको कुवेत पनि दुई साता बन्द हुने भएको छ। 

कुवेत सरकारले आज (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको हो। यो सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी र कामदारका लागि लागू हुनेछ।

नेपालीसहित आप्रवासी कामदारको उच्च जनघनत्व रहेको कुवेतले कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै सुरक्षाका सबै उपायहरु अपनाएको हो। १७ हजार ८ सय १८ वर्गकिलोमिटरको क्षेत्रफल रहेको कुवेतमा झन्डै ४२ लाख मानिस बस्छन्। कुल जनसंख्याको ७० प्रतिशत आप्रवासी कामदार रहेका छन्। नेपाली कामदार भने झन्डै ८५ हजार कार्यरत छन्।

यसै क्रममा कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने भएको छ। तर कार्गोको उडान भने जारी रहने छ। अन्तर्राष्ट्रिय उडान बन्दले कुवेतसँग हुने नेपाली कामदारको दुईतर्फी आवतजावत पनि बन्द भएको छ। 


प्रतिक्रिया दिनुहोस्