युरोपका नेपाली सुरक्षित, इटालीका १५ सय नेपाली नियमित सम्पर्कमा

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  २ : १२


लन्डन । युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

मिलानमा बस्ने कँडेलले भने, ‘हामीलाई कोही नेपाली संक्रमित बनेको खबर छैन। हामी सबै नेपालीसँग निरन्तर सम्पर्कमा छौं।’ बाहिरबाट देखिएजस्तो भयावह स्थिति नभएको उनले बताए। ‘सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सर्वसाधारण थप सचेत बनेका छन्,’ उनले भने, ‘हामी नेपाली पनि अत्तालिएका छैनौं। तर, संक्रमण बढ्दै गयो भने के होला भन्ने अन्योल छ।’

इटालीसमेत हेर्ने जेनेभास्थित नेपाली स्थायी नियोग प्रमुख मणि भट्टराईले पनि नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको बताए। उनले टेलिफोनमा भने, ‘अवैतनिक दूत, गैरआवासीय संघका प्रतिनिधिलगायतसँग सम्पर्कमा रहेर सजग गराइरहेका छौं।’ जेनेभामा सबै सुरक्षा अवलम्बन गरिएको उनले बताए। जेनेभामा अप्रिलसम्मका राष्ट्रसंघीय सबै कार्यक्रम सारिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्