ट्याक्सीभाडा बढाउने तयारीमा सरकार

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  १ : २८


काठमाडौँ । सरकारले ट्याक्सी चालकहरूलाई वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ। बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो। 

यातायातमन्त्री वसन्त नेम्वाङको उपस्थितिमा भएको छलफलमा मन्त्रालयले व्यवसायीको भाडा समायोजन लगायत माग पूरा गर्ने आश्वासन दिएको हो। छलफलमा व्यवसायीले भाडाका यात्रु बोक्ने निजी सवारीलाई नियमन गर्न र भाडा वृद्धि गर्न माग राखेकोमा ती माग पूरा गर्न आफूहरू तयार भएको मन्त्री नेम्वाङले बताए।

‘२०६९ देखि ट्याक्सी भाडा वृद्धि भएको छैन । त्यसैले उनीहरूले राखेको माग जायज हो, आवश्यक अध्ययन गरी भाडा समायोजनको काम गर्छौं,’ उनले भने । यद्यपि, गतवर्ष असोजमा मात्रै विभागले अन्य सवारीसाधनसँगै ट्याक्सीको भाडा १० प्रतिशतले वृद्धि गरेको थियो । 

मन्त्रालयका अनुसार भाडा समायोजन समितिले अध्ययन गरी प्रतिवेदन बुझाउनेछ र वैशाखभित्र भाडा समायोजन गरिनेछ । आजको आर्थिक अभियान दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्