कोरोना भाइरस संक्रमणको कारण फिल्म ‘नीरफूल’को रिलिज स्थगित

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  २ : ४२


काठमाडौं । फिल्म ‘नीरफूल’को रिलिज स्थगित भएको छ । विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको कारण चैत ७ गते फिल्म रिलिज नहुने निर्माण टिमले विज्ञप्तिमार्फत जनाएको छ ।

‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ संचारकर्मी तथा कवि फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’को हालै ट्रेलर रिलिज गरिएको थियो । स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्