उड्न लागेको विमानभित्र परेवा छिरेपछि…

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार  ५ : ३८


जयपुर । उड्न लागेको विमानभित्र परेवा छिरेपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ। 

घटना भारतको अहमदावाद विमानस्थलको हो। शुक्रबार अहमदावादबाट जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा पसेपछि एकछिन खैलाबैला मच्चिएको हो। 

‘जी८–७०२’ विमान ‘टेक अफ’ का लागि तयार हुँदै गर्दा विमानभित्र परेवा देखिएपछि यात्रु र चालक दलका सदस्य चकित भएका थिए। विमानभित्रै उक्त परेवा उड्न थालेपछि केही यात्रीले भिडियो पनि बताए। अहिले विमानभित्रको उक्त दृष्य भाइरल बनेको छ। 

शुक्रबार दिउँसो ४ः३० बजे एप्रोनमा ल्याइएको उक्त विमानमा सबै यात्री चढिसकेपछि ढोका बन्द गरिएको थियो। ४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको हो।

विमानमा सवार यात्रीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार एक यात्रीले ‘ह्यान्ड ब्याग’ राख्नका लागि ‘लगेज शेल्फ’ खोल्नासाथ परेवा निस्किएको थियो । विमानका कर्मचारीले ‘ग्राउन्ड स्टाफ’लाई घटनाबारे जानकारी गराएपछि विमानको उडान स्थगित गरी ढोका खोलियो। निकै मेहनतपछि उक्त परेवालाई बाहिर निकाल्न सफल भएको यात्रुहरुको भनाइ छ।

उक्त परेवा कसरी विमानभित्र छिर्यो भन्ने बारे भने झनै खुल्न सकेको छैन्। 


प्रतिक्रिया दिनुहोस्