वामदेव विवादमा राजनको इन्ट्री, भन्छन्, पार्टी निर्णय लागू हुँदैन

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ५३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय नभएको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले राष्ट्रियसभा सदस्यको लागि मनोनयनको विषय संविधानले गरेको व्याख्यानुसार पनि सरकार र राष्ट्रपतिबीचको विषय भएको बताउनुभयो । उहाँले यो विषयमा पार्टीको निर्णय लागु नहुने जिकिर गर्नुभयो । 

उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन गर्ने विषय फिर्ता भएकोले अब यसबारेमा चर्चा गर्न जरुरी नभएको पनि उहाँले बताउनुभयो । उहाँले जनताले जुन किसिमको विश्वास नेकपालाई दिएका छन् र, सरकार चलाउने जुन पाँच वर्षको म्याण्डेट दिएका छ्न् त्यसबाट नेतृत्व दायाँबायाँ नहुने विश्वास दिलाउनुभयो । 

त्यस्तै भट्टराईले अमेरिकी सहयोग एमसीसीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संसदको रोष्ट्रममा उभिएर बोलिसकेको भन्दै एमसीसी पारित गरेर जानुपर्ने धारणा राख्नुभयो । उहाँले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन सहमतिमा बनाइएको सुनाउँदै प्रतिवेदन बुझ्न किन ढिलाई भैरहेको छ ? भन्दै प्रश्न गर्नुभयो । 
 


प्रतिक्रिया दिनुहोस्