महिलालाई लाठी बर्साउने इन्सपेक्टरमाथि छानबिन सुरु

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ४७


काठमाडौं । बालक बोकेकी महिलामाथि लाठी हान्ने प्रहरी इन्सपेक्टरमाथि प्रहरीले छानबिन सुरु गरेको छ।

एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ।

दोषी देखिए उनीमाथि कारवाही हुने छ।

प्रहरी हेडक्वार्टरले निर्देशन दिएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको हो। 

उक्त घटनाबारे अनुसन्धान गर्न ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ।

सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घरमा छिरेका महिलाहरूको समूहलाई बाहिर निकाल्ने क्रममा निरीक्षक पौडेलले ती महिलालाई लाठी हानेका थिए।

भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ।

प्रहरीका अनुसार खत्री र अर्की महिलाबीच लामो समयदेखि विवाद भइरहेको थियो। पीडित महिलाले खत्री आफ्नो श्रीमान भएको र नाता प्रमाणित गरिदिन विभिन्न निकायमा निवेदन गर्दै आएकी छन्।

खत्रीले भने उनी आफ्नो श्रीमती नरहेको र जनयुद्धकालमा सुचकका रुपमा रहेको बताएका छन्।

यो पनि पढ्नुहोस

दुधे बालक बोकेकी महिलामाथि प्रहरीको लाठी !
 


प्रतिक्रिया दिनुहोस्