भरतमोहन अधिकारीको स्मृतिसभा काठमाडौंमा हुँदै

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ७ : ५५


काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं वरिष्ठ बामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा काठमाडौंमा हुने भएको छ ।
 
स्व.अधिकारीको निधन भएको एक वर्ष पूरा भएकै दिन आइतबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा स्मृति कार्यक्रम आयोजना गर्न लागिएको हो । अधिकारीको ८२ वर्षको उमेरमा गत वर्ष १८ फागुनमा निधन भएको थियो । 

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले गर्न लागेको कार्यक्रमको प्रमुख अतिथि नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनु हुने कार्यक्रम छ । फाण्डेशनका अनुसार कार्यक्रममा प्रचण्डसहित नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस नेता डा. शेखर कोइराला, राप्रपाका सह–अध्यक्ष एवं पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताले अधिकारीका बारेमा धारणा राख्नुहुने कार्यक्रम रहेको छ । स्वर्गीय अधिकारीपुत्री लीमा अधिकारीले स्मृति कार्यक्रममा ‘हाम्रो नजरमा भरतमोहन’ नामक पुस्तकको विमोचनसमेत हुने जानकारी दिनुभयो । 

२०५१ सालमा तत्कालीन एमालेको ९ महिने अल्मपतको सरकारमा अर्थमन्त्री छँदा अधिकारीले वृद्धवृद्धालाई मासिक १ सय रुपैयाँ भत्ता दिन सुरु गर्नुभएको थियो ।सो रकम बृद्धि भएर हामल मासिक ३ हजार पुगेको छ । यस्तै सोही कार्यकालमा अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऔं’ नामको कार्यक्रमसहित स्थानीय तहमा बजेट पठाउन सुरु गरेका थिए । यी दुई लोकप्रिय कार्यक्रमका कारण अधिकारी नेपाली जनमानसमा लोकप्रिय हुनुहुन्छ । 
 


प्रतिक्रिया दिनुहोस्