मास्ककाे भाउ ६ गुणासम्म बढ्याे

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ५३


काठमाडौँ । बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २ सय रुपैयाँ तिरिन् । तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्‍यो। फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ।

‘अरू बेला प्रतिगोटा ५ रुपैयाँमा मास्क किनिन्थ्यो। अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्‍यो,’ उनले भनिन्। खुद्रामा प्रतिगोटा ५ र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको छ। मास्कको सटेज हुन थालेदेखि केही फार्मेसीले बिक्री नगरेको र केहीले थोक मूल्य नै बढेर आएपछि त्यहीअनुसार बिक्री गरेको बताएका छन्। महिना दिनदेखि मास्क बेच्न छोडिसकेको न्युरोड गेटस्थित न्युरोड फार्मेसीका सञ्चालक मन्दिर श्रेष्ठले बताए। अहिले पेपर मास्क छाडी कपडाको मास्क बिक्री गरिरहेको उनले सुनाए।

‘नेपाली उद्योगले बनाएका कपडाको कटन मास्क प्रतिगोटा १ सय रुपैयाँमा बिक्री गर्दै छौं,’ उनी भन्छन्, ‘पहिला तीन तहको फिल्टर भएको मास्क ५ रुपैयाँ र ४ तहको फिल्ट र भएको १० रुपैयाँमा बिक्री गर्थ्यौं।’ कोरोना भाइरसको संक्रमणले मास्क सटेज हुन थालेयता माग बढे पनि महँगोमा बिक्री नगरेको उनको भनाइ छ। अहिले दिनमा एक सयभन्दा बढी ग्राहक मास्क किन्न आउने गरेको उनले बताए।

त्रिपुरेश्वरमा सर्जिकल स्टोर सञ्चालन गरिरहेका व्यवसायीले होलसेलमै १ डब्बा मास्कको मूल्य नै १७ सय रुपैयाँ पर्ने बताए। ‘एक डब्बामा ५० थान मास्क हुन्छ, हामीलाई त्यसको १७ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ। त्यसैले खुलामा ३० रुपैयाँमा बिक्री गरिरहेका छौं। मास्क सटेज हुनुअघि एक डब्बाको १ सय २० देखि १ सय ४० रुपैयाँ पर्थ्यो। अहिले लगभग १४ गुना बढेको छ।’

स्थानीय बजारमा मास्कको सटेज रहेको उनलेल बताए। पहिला चिनियाँले मास्क उठाएर लगे अहिले हामीलाई उनीहरूले नै दोब्बर नाफा राखेर बिक्री गरिरहेका छन्। हामीले पनि त्यति बेला प्रतिडब्बा ६ सय रुपैयाँमा बिक्री गर्‍यौं। अहिले त्यसको परिणामा देखिएको छ। चीनमा देखिएको कोरोना भाइरस कारण दुई महिनायता नेपाली बजारमा ‘एन्टी फिल्टर मास्क’ को माग बढ्दो छ।

नेपाली बजारमा भाइरस फिल्टर गर्ने मास्क ‘एन–९५’ मास्क २ महिनाअघि नै सटेज भएको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष सुरेश घिमिरले बताएका थिए। तर अहिले बजारमा साधारण मास्कसमेत सजिलै पाइँदैन।

बाहिर बजारमा फुटपाथमा मास्क बिक्री गरिरहेका र फार्मेसीले बिक्री गर्ने एउटै मास्कको मूल्य भिन्नाभिन्नै भेटिएको छ। सुन्धाराको फुटपाथमा मास्क बिक्री गर्ने एक व्यापारीले भने १० थान भएको मास्कको प्याकेटकै २ सय ४० रुपैयाँ पर्ने बताइन्। त्यसैले २५ रुपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ। त्यही मास्क न्युरोडको एक फार्मेसीले भने प्रतिगोटा ३० रुपैयाँ र प्याकेटको ३ सय रुपैयाँमा बेचिरहेको जनाएको छ। 
-कान्तिपुर दैनिक


प्रतिक्रिया दिनुहोस्